आर्थिक वर्ष सुरु भएको करिब तीन महिनापछि सुदूरपश्चिम सरकारले बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री चक्र मल्लले चालू आव ०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सुदूरपश्चिम प्रदेश सभामा आइतबार प्रस्तुत गरेका छन् । पूर्ववर्ती सरकारले यसअघि प्रदेश सभामा प्रस्तुत गरेको बजेटलाई परिमार्जन गरी केही योजना तथा कार्यक्रमसमेत थपेर नयाँ सरकारले बजेट ल्याएको हो । बजेटको आकार भने घटबढ गरिएको छैन ।
तत्कालीन आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गत १ असारको मध्यराति प्रदेश सभामा ३७ अर्ब ७० करोेडको बजेट प्रस्तुत गरेका थिए । तर, सत्तापक्षबिच नै विवाद भएपछि बजेट पास हुन सकेन । बजेट पारित हुन नसकेपछि गत १ साउनदेखि सुदूरपश्चिम सरकार बजेट शून्यतामा छ । बजेट विवादकै कारण कांग्रेस–एमालेको गठबन्धन टुटेर सरकार ढलेपछि बजेट अनिश्चित बनेको थियो । नेकपा–एमालेको गठबन्धन बनेसँगै गत २९ साउनमा गठन भएको सरकारले भागबन्डाको तीव्र रस्साकस्सीबिच बजेट सार्वजनिक गरेको हो ।
बजेट भाषणका क्रममा मन्त्री मल्लले कुल बजेटमध्ये चालू र पुँजीगततर्फको विनियोजन उल्लेख गरेनन् । बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख, संघीय रोयल्टी बाँडफाँटबाट सात करोड र वित्तीय समानीकरण अनुदानतर्फ नौ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, संघीय ससर्त अनुदानतर्फ ६ अर्ब तीन करोड ५८ लाख, समपूरक अनुदानतर्फ ३८ करोड ८० लाख र विशेष अनुदानबाट प्राप्त ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान बजेटको स्रोतका रूपमा रहेको छ ।
प्रदेश सरकारको गत वर्षको बजेटको बचत नौ अर्ब ६५ करोड ६७ लाख रहेको उल्लेख गरिएको छ । आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार गत वर्षको बचत करिब पाँच अर्ब मात्र छ । अर्थमन्त्रीले यथार्थ बचतलाई नभई अनुमानलाई स्रोत मानेर ठूलो आकारको बजेट ल्याएका हुन् ।
मन्त्री मल्लले बजेटले उत्पादन वृद्धि, कृषिको आधुनिकीकरण, उद्योगको प्रवद्र्धन, रोजगारी सिर्जना, कृषि तथा पशुपक्षीको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलाई प्राथमिकता दिइएको बताए ।
निवर्तमान आर्थिक मामिलामन्त्री प्रकाशबहादुर बम भन्छन्– कार्यक्रम पुस्तिका हेरेपछि बजेटमा के–कस्ता योजना राखिएका छन् भन्ने थाहा होला । तर, बजेट भाषण हेर्दा हचुवाका भरमा बजेट ल्याएको देखिन्छ । गत वर्षको यथार्थ बचत पाँच अर्ब हाराहारी छ ।
सरकारले भने अघिल्लो बजेटकै अनुमानलाई आधार मानेर घाटा बजेट ल्याएको छ । भागबन्डा मिलाउन अघिल्लो अनुमानका आधारमा ठुलो बजेट ल्याइएको छ । भीमदत्त पन्त, जयपृथ्वीबहादुर सिंह, द्वारिकादेवी ठकुरानीजस्ता सुदूरपश्चिमका विशिष्ट व्यक्तिहरूका नाममा अघिल्लो सरकारले ल्याएका सामाजिक कार्यक्रम अहिले हटाइएको छ ।
पूर्वआर्थिक मामिलामन्त्री नरेशकुमार शाही भन्छन्– बजेट तीन महिना ढिलो आउनु नै विडम्बना हो । अहिले जेनतेन बजेट आएको छ । यो बजेटले आफू र अरूलाई ढाँटेको छ भन्ने लाग्छ । किनभने, आम्दानीको स्रोतमा तादात्म्य मिलेको छैन । असार १ गते प्रस्तुत गर्दा आम्दानीको स्रोत बचत यकिन भइसकेको हुँदैन । अहिले गत वर्षको जति बचत हो, त्यति नै देखाउनुपर्ने हो, तर अहिले आउँदा पनि हामीले नौ अर्ब ६५ करोड देखायौँ, यो बेठिक हो । अरू कार्यक्रम पढेपछि भनौँला, तर समग्र कार्यक्रम जुन गतिलो हुनुपथ्र्यो, त्यो छैन ।
सडक पूर्वाधारमा साढे ६ अर्ब
सरकारले सडक, पुल, खानेपानीतर्फ निर्माणाधीन योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उल्लेख गरेको छ । सडक गुरुयोजनाले तय गरेका प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग, प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना र समपूरक अनुदानअन्तर्गतका सडकको विकास र विस्तारका लागि ६ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
निर्माणाधीन खानेपानीका आयोजनामा तीन अर्ब रुपैयाँ, जल उत्पन्न प्रकोप नियन्त्रण, तटबन्ध निर्माण तथा जमिन उकासका लागि एक अर्ब ६१ करोड रुपैयाँ, सिँचाइ सुविधा विस्तारका लागि दुई अर्ब ४९ करोड विनियोजन गरिएको छ । संघीय सरकारसँगको सहकार्यमा धनगढीको फाप्लामा खेलग्राम स्थापना शीर्षकमा पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बडीमालिकामा केबलकारको सम्भाव्यता अध्ययन गरिने
अर्थमन्त्रीले सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बाजुराको बडीमालिकामा केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन र विद्युत् विस्तार गर्न तीन करोड २५ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै, खप्तडमा विद्युत् विस्तार र त्रिवेणीधाममा प्यागोडा शैलीको मन्दिर निर्माण गर्न ६ करोड १० लाख विनियोजन गरिएको छ ।
कोल्टी र गोकुलेलाई प्रादेशिक अस्पताल बनाइने
सरकारले दार्चुलाको गोकुले र बाजुराको कोल्टी अस्पताललाई प्रादेशिक अस्पताल बनाउने घोषणा बजेटमार्फत गरेको छ । यसका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने बजेटमा उल्लेख छ ।
डोटीको जोरायल गाउँपालिकास्थित छतिवन स्वास्थ्यचौकी र बैतडीको पाटन गरपालिकास्थित खोड्पेमा प्रि–ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने घोषणा गरिएको छ । त्यस्तै, प्रदेशमा भेन्टिलेटरसहितको एम्बुलेन्स खरिद गर्न चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सुदूरपश्चिमको राजधानी तोकिएको कैलालीको गोदावरी क्षेत्रको जग्गाको भोगाधिकारका लागि संघीय सरकारसँग पहल गर्ने र राजधानी पूर्वाधार निर्माणको सुरुवात गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री मल्लले जानकारी दिए ।