सरकारले पहिलोपटक ‘नागरिक बजेट’ ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्थाअनुसार गत १५ जेठमा सार्वजनिक गरेको चालू आव ०८३/८४ को बजेटलाई नै आमनागरिकले सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै ‘नागरिक बजेट’ ल्याएको हो ।
अर्थ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको चालू आवको बजेटलाई आमनागरिकले सजिलै बुझ्न सक्ने, सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको विवरण शनिबार सार्वजनिक गरेको हो । नागरिक बजेटमा बजेट निर्माण प्रक्रियादेखि कार्यान्वयन र अनुगमनसम्मका व्यवस्थालाई सरल भाषामा प्रस्तुत गरिएको छ ।
सरकारले कहाँबाट राजस्व प्राप्त गर्छ, कुन क्षेत्रमा कति खर्च गर्छ, बजेटबाट नागरिकले के–कस्ता लाभ प्राप्त गर्छन् र बजेट निर्माण र कार्यान्वयनमा नागरिकले कसरी सहभागिता जनाउन सक्छन् भन्ने जानकारी नागरिक बजेटमा समावेश गरिएको छ । त्यस्तै, बजेटसँग सम्बन्धित विभिन्न शब्दका अर्थसमेत राखिएका छन् ।
सरकारको वार्षिक बजेटको जानकारी नागरिकले बुझ्ने भाषामा उपलब्ध गराउन, बजेट प्रक्रियामा नागरिकको सहभागिता र स्वामित्व बढाउन, सरकारका प्राथमिकता तथा विकास योजनाबारे आमनागरिकलाई जानकारी गराउन, सरकारलाई नागरिकप्रति जवाफदेही बनाउन, सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता कायम गर्न र सार्वजनिक खर्चको निगरानी गर्न, नागरिकलाई सक्षम बनाउन नागरिक बजेटको थालनी गरिएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा. वाग्लेले बजेटका प्राथमिकता, कारका प्रावधान र विकासका लक्ष्यलाई सर्वसाधारणले सहजै बुझ्ने भाषामा समेटेर नागरिक बजेट सार्वजनिक गरेको उल्लेख गरेका छन् । ‘नेपाल सरकारको आर्थिक वर्ष ०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमलाई सरल रूपमा आमनागरिकसमक्ष पुर्याउने उद्देश्यले यो नागरिक बजेटपुस्तिका तयार भएको छ,’ उनले नागरिक बजेटमा दिएको मन्तव्यमा उल्लेख छ, ‘राज्यको स्रोत–साधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व हो ।’