कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको निर्वाचनको बाँकी मतगणना आज दिउँसोदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो ।
निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपराह्नबाट मत गणना सुरु गरिने बताए । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतादन भएको थियो ।
दोस्रो चरणमा शेरबहादुर देउवा सभापतिमा पुनः विजयी भएका छन् । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २७३३ मत प्राप्त गरेका छन्। सभापतिका प्रत्यासी डा शेखर कोइरालाले १८५५ मत प्राप्त गरे । दोस्रो चरणको निर्वाचनमा कुल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।
पदाधिकारी र सदस्यको मत गणना सानेपामा
सभापतिबाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिने बताए । उनले भने, 'आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।'
कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मंसिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो । रासस