एमालेले विगतमा गरेको संसद् अवरोध संविधानसम्मत छैन : सभामुख सापकोटा

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका हुन्।

संसद्मा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने उनले बताए। सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत नभएको बताए। उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

‘उहाँहरूले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानुनअनुसार छैन। नेपाली जनताले यसलाई छर्लंग बुझेका छन्। जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै गरेको छु र अझ मैले भन्नुपर्दा नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैँभरि त्यही गर्न म प्रतिबद्ध छु,’ उनले भने।

सभामुख सापकोटाले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएको उल्लेख गर्दै यस अधिवेशनबाट विधेयक पास गर्ने र पास गराउनका लागि समझदारी जुटाउने मूल एजेन्डा रहेको जानकारी दिएका छन्।

सुझावित समाचार