१. कांग्रेसमा स्पष्ट नीति छैन, एकता पनि भएन : पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलो मात्र होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ । नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशनको प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु ।
२. संसदीय विचलन छ, सत्ता अवसरमा नेतृत्व रमाएको छ : मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आइरहेको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भ¥याङ नहोस् भनेर बिपी, गणेशमान र किसुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडाबोध भइरहेछ । संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।
३. नयाँ पुस्ताको काँधमा छ कांग्रेसको भविष्य : लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अगाडि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन ।
४. कांग्रेसभित्र षड्यन्त्र हुन्छ, आस्थावान्ले आदर्श जोगाउनुपर्छ : चौधौँ महाधिवेशनसम्म आइपुग्दा अनेको प्रपञ्च भोगेको छु । प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अनेक अथक् प्रयत्न गर्दा पनि पार्टी महाधिवेशनको मझधारमा आएर म प्रतिस्पर्धाको मैदान छाड्ने अवस्थामा पुगेँ । प्रतिस्पर्धाबाट अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
५. राजनीतिमा भूमिका रहिरहन्छ : पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेको छु । एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएको विकृति र गलत प्रवृत्तिविरुद्ध लडिरहनेछु । राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ ।