विदेशमा ओमिक्रोनको त्रास, चितवनमा मेला र भेला गर्न हानथाप

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

छिमेकी मुलुक भारतसहित विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढिरहेको छ। नेपाल सरकारले पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ। तर, चितवनमा भने पछिल्लो केही दिनयता भिडभाडसहितका भ्याइनभ्याई सभा समारोह चलिरहेको छ।

नेकपा एमालेले मंसिर १० मा हजारौँ मानिस भेला गरेर आफ्नो महाधिवेशन गर्यो। प्रेस सेन्टरको ४औँ अधिवेशन पनि चितवनमा नै भयो। नेपाली कांग्रेस र माओवादीको महाधिवेशनको लागि पनि वाडवाडमा कार्यकर्ता भेटघाट र प्रशिक्षण भए। भिडभाडसहित विवाहका कार्यक्रमहरू पनि निरन्तर चलिरहेको छ।

एकसाथ दुई ठूला महोत्सव हुँदै
चितवनमा एकसाथ दुई ठूला महोत्सव हुँदै छ। विगतमा फरकफरक समयमा आयोजना हुँदै आएको चितवन महोत्सव र रत्ननगर महोत्सव यसपटक एउटै मितिमा गर्न लागिएको छ। उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारमा २५ पुसदेखि ४ माघसम्म चितवन महोत्सव हुँदै छ भने रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा २७ पुसदेखि ८ माघसम्म रत्ननगर महोत्सव हुँदै छ।

पछिल्ला गतिविधिहरू हेर्दा चितवनमा कोरोनाको जोखिम बढाएको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी कोरोना फैलन नदिन सबैको दायित्व उत्तिकै हुने बताउँछन्। अहिले जिल्लामा पहिलाको जस्तो संक्रमण दर नभए पनि सबै सचेत रहनुपर्ने उनी बताउँछन्। उनले भने, ‘ओमिक्रोनको बारेमा त्यति धेरै जानकारी प्राप्त भएको छैन, तर पनि स्वास्थ्य मन्त्रालयले सतर्क हुन भनेको छ। हामीले पनि  कार्यक्रमको अवश्यकता हेरेर मात्र कार्यक्रम गर्नुपर्छ।

सुझावित समाचार