योगेश भट्टराईको दाबी– गठबन्धन सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनायो

बिहिबार, २३ मंसिर, २०७८
डिजिटल संस्करण

एमाले सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । हेटौँडामा प्रेस चौतारीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले अहिलेको गठबन्धन सरकारले मुलुकको मुख्य अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैलाई अस्थिर बनाउँदै ध्वस्त बनाएको आरोप लगाएका हुन् ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले कार्यपालिका भागबन्डामा गठन, कार्यपालिकाको सवालमा संसद्लाई बन्धक बनाइएको छ र न्यायपालिकालाई नांगेझार बनाएको छ,’ उनले भने, ‘न्यायपालिकाको इज्जत प्रतिष्ठालाई त अझ सरकारले पूरै सखाप बनाइसकेको छ ।’

उनले मुलुकका महत्वपूर्ण अंगलाई बचाउनका लागि पनि छिटोभन्दा छिटो जनादेशमा जान जरुरी रहेको दाबी गरे । भट्टराईले मुलुकमा छिटो निर्वाचन गराउन जरुरी रहेको र लोकतान्त्रिक ढंगले मुलुकमा स्थायित्व बनाउन एमाले कटिबद्ध भएको बताए । 

नेकपा फुटेर एमाले, माओवादी आ–आफ्नो बाटोमा लागिसकेपछि एमालेलाई थप सुदृढ बनाउँदै अघि बढ्न सहज भएको भट्टराईको धारणा छ । उनले भने, ‘अब देशमा दुईवटा मात्र धार रहनेछ,’ उनले भने, ‘एक कम्युनिस्ट विचारधारा राख्ने वामपन्थी विचार बोकेर हिँड्ने वाम प्रगतिशील नेकपा एमाले र उदारवादी, पुँजीवादीहरूको नेतृत्व गर्ने नेपाली कांग्रेस ।’ 

उनले दुई पार्टीबीच मात्र नेपालमा प्रतिस्पर्धा हुने भएकाले अरू पार्टीहरू समाहित हुनेबाहेक विकल्प नरहेको बताए । भट्टराईले डा.भीम रावल अध्यक्ष केपी शर्मासँगै प्रतिस्पर्धामा उत्रिए पनि त्यो लोकतान्त्रिक प्रतिस्पर्धामै सीमित भएको र अध्यक्षमा मतदान प्रक्रिया हुँदैमा पार्टी फुट्ने वा विभाजनको मार्गमा अघि बढ्ने संज्ञा दिइनु गलत हुने बताए । 

उनले कांग्रेसले आफ्नो महाधिवेशनमा कुनै पनि नयाँ विचार प्रतिपादन गर्न नसक्ने बताउँदै कांग्रेस इतिहास भएको तर भविष्य नभएको पार्टीका रूपमा अघि बढिरहेको ठोकुवा गरे । ‘कांग्रेस इतिहास लामो भएको तर भविष्य छोटो भएको पार्टी हो,’ उनले भने, ‘एमाले इतिहास र भविष्य दुवै लामो भएको पार्टी हो ।’ 
 

सुझावित समाचार