पर्सामा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

पर्साका सबै स्थानीय तहमा बुधबारदेखि मंसिर २४ सम्म कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जिल्लाका सबै स्थानीय तहको सहकार्यका सबै स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा १८ वर्षमाथि सबै उमेर समूहका व्यक्तिलाई १२९ वटा खोप केन्द्रमार्फत कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको हो। ‘हाम्रो सुरक्षा, खोप लगाऔं सुरक्षित बनौं’ भन्ने नाराका साथ खोप अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला खोप समन्वय समितिका संयोजक उमेश कुमार ढकालले जानकारी दिए।

वीरगन्ज महानगरपालिकाको बढी भिडभाड हुने घन्टाघर चोक, बसपार्क चोक, आदर्शनगर चोक, भन्सार चोक र ड्राइपोर्ट चोकमा पनि खोप अभियान सञ्चालन हुने ढकालले बताए। उनका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउनका लागि पोखरिया नगरपालिकामा हाटबजार लाग्ने दिनमा पनि एक दिन खोप लगाइने छ।

जिल्लाका सबै स्वास्थ्य संस्था तथा अवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी ४७५ स्वास्थ्यकर्मी, स्वयंसेवक र व्यवस्थापक तथा ७६५ सामुदायिक महिला स्वयंसेविकासहितको टिम परिचालन गरिने प्रजिअ ढकालले बताए।

सुझावित समाचार