काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र सञ्चालन हुँदै छ। बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रतिवेदन तथा प्रस्तावमाथिको छलफल टुंग्याउँदै पारित गर्ने कार्यक्रम रहेको छ।
आजको सत्रमा पार्टी सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव’, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने तयारी छ।
यसअघि सोमबारदेखि नै ती प्रतिवेदन तथा प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर धारणा राख्दै आएका छन्। सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन्।
उनका अनुसार आज बिहान साढे १० बजेदेखि बन्दसत्र पुनः सञ्चालन गर्ने कार्यतालिका छ। महाधिवेशनको आगामी सत्रको प्रारम्भमा पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ। प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।