सिँचाइ कार्यालय थप सेवासहित मर्ज, दुई ठाउँबाट थप सेवा प्रवाह

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

लहान । सिराहाको लहान नगरपालिका– १० स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्थनान्तरण नभई ऊर्जा र खानेपानी कार्यालयसहित मर्जपछि परिवर्तित नाममा थप सेवा प्रवाह गरिने भएको छ ।

डिभिजन प्रमुख विश्वनाथ यादवका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को गत १० भदौमा स्वीकृत नयाँ संगठन तथा व्यवस्थापन तथा मन्त्रालयको ८ असोजको निर्णयअनुसार सम्बन्धित विषयगत कार्यालयहरू मर्ज भई ऊर्जा, सिँचाइ खानेपानी डिभिजनको रूपमा रूपान्तरण भएको हो ।

‘मर्जपछि रूपान्तरित कार्यालयले साबिकको कार्यालयमार्फत सेवा प्रवाह गरिएको ठाउँबाट नै थप सेवा प्रवाह गरिनेछ,’ उनले भने, ‘कार्यालय स्थानान्तरण होइन ।’
उनका अनुसार जिल्ला सदरमुकाममा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन र लहानमा रहेको भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजनको सेवा दुवै ठाउँबाट प्रवाह गरिनेछ । ‘दुवै ठाउँमा ऊर्जा र खानेपानीसम्बन्धी थप सेवा प्रवाह गरिनेछ,’ उनले भने ।

जनमानसमा कार्यालय नै स्थानान्तरण गर्न खोजिएको भन्ने भ्रम सिर्जना भएको उल्लेख गर्दै उनले कार्यालय मर्ज भएपछि थप सेवासहित दुवै ठाउँमा कार्यालय सञ्चालन गरिने बताए । 
 

ग्रामीणमा आफ्नै सुविधासम्पन्न भवन र आवश्यक पूर्वाधारसहित भूमिगत जलस्रोत सिँचाइसम्बन्धी सेवा प्रवाह गरिरहेको कार्यालयबाट ऊर्जा र खानेपानीसहितको सेवा प्रवाह हुँदा सेवाग्राहीलाई खानेपानी र ऊर्जासम्बन्धी कामका लागि अन्यत्र जानु नपर्ने उनले बताए ।  

पछिलो केही दिनयता अगुवा किसानसहित विभिन्न राजनीतिक दलहरूले कार्यालयपरिसरमै पुगेर कार्यालय सार्ने निर्णय तत्काल फिर्ताको माग गर्दै आएका छन् । ‘मर्जपछि कार्यालयको स्वरूप, प्रवाह हुने सेवा, डिभिजनको शाखा सञ्चालनलगायतको विषयमा यथार्थ कुरा सर्वसाधारणलाई बुझाउन नसकिँदा यस्तो अवस्था आएको हो,’ उनले भने, ‘मर्ज भएपछि दुवै ठाउँबाट सेवा प्रवाह हुँदा त झन् जनतालाई फाइदा पो हुन्छ त ।’

सुझावित समाचार