सभापतिमा गगनलाई आफ्नै गुरुको चुनौती, राठोर पनि मैदानमा

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडाैं । विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका गगन थापालाई १५औँ महाधिवेशनमा आफ्नै गुरु श्यामकृष्ण खड्गीले चुनौती दिएका छन् । गुरु–चेलाको सम्बन्ध अहिले एउटै पार्टीको शीर्ष नेतृत्वका लागि राजनीतिक प्रतिस्पर्धीको रूपमा परिणत भएको छ ।

साढे तीन दशकअघि थापा विद्यार्थी हुँदा काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा खड्गी माध्यमिक तहका गणित शिक्षक थिए । निर्वाचन कार्यतालिकाअनुसार थापा र खड्गी दुवैले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

खड्गीले विधानले दिएको अधिकार प्रयोग गरेर सभापतिमा उम्मेदवारी दिएको बताए । कांग्रेसको सुन्दर पक्ष नै प्रतिस्पर्धा भएको र पार्टीभित्र देखिएको ध्रुवीकरण मिलाउन आफूले सभापतिमा उम्मेदवारी दिएको उनले बताए । ‘कांग्रेसभित्र जबर्जस्त ध्रुवीकरण देखिएको छ । यसले पार्टीलाई बलियो बनाउँदैन । देश र लोकतन्त्रका लागि पनि कांग्रेस बलियो हुनुपर्छ,’ खड्गीले भने, ‘पार्टीलाई एकताबद्ध गर्दै बलियो बनाउन सक्छु भन्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको छु । महाधिवेशन प्रतिनिधिहरूको सकारात्मक प्रतिक्रिया पाएको छु ।’

हारजित स्वाभाविक प्रक्रिया भएको भन्दै उनले गुरु–चेला प्रतिस्पर्धाको स्थितिले आफू खुसी रहेको बताए । ‘म स्कुलको गुरु, गगन विद्यार्थी थिए । अहिले लोकतान्त्रिक अभ्यासमा हामी सभापतिमा प्रतिस्पर्धा गर्दै छौँ । यसमा मलाई खुसी नै लागेको छ,’ खड्गीले भने, ‘महाधिवेशन प्रतिनिधिको निर्णय शिरोपर गर्छु ।’ उनले गगन राम्रो विद्यार्थी भएको पनि स्मरण गरे । वनस्थलीमै पढेका प्रदीप पौडेल र किशोरसिंह राठोर पनि राजनीतिमा स्थापित भएकोमा उनले खुसी व्यक्त गरे ।

खड्गीको राजनीतिक इतिहास ४० वर्षको छ । उनको राजनीतिक यात्रा ०४३ सालमा अमृत साइन्स (अस्कल) क्याम्पसबाट सुरु भएको थियो । खड्गी १२औँमा काठमाडौं जिल्ला कार्यसमितिको सहसचिव, १३औँ र १४औँ काठमाडौं ६ को क्षेत्रीय सभापति भएका थिए ।

उम्मेदवारी दर्तापछि थापाले प्रतिस्पर्धामा जित–हार स्वाभाविक भएको बताउँदै जितमा उक्सिन र हारमा निराश नहुन आग्रह गरे । ‘केन्द्रीय सदस्य हुँदा सर्वाधिक मत ल्याएर निर्वाचित भएको अनुभव पनि गरेको छु । दोस्रोपटक महामन्त्रीमा प्रतिस्पर्धा गर्दा अत्यन्त कम मत ल्याएको अनुभव पनि छ । तेस्रोपटक फेरि महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सानदार ढंगले जितेको अनुभूति पनि गरेको छु,’ उनले भने, ‘त्यसकारण पार्टीभित्रको प्रतिस्पर्धामा कहिले जित्ने, कहिले हार्ने हुन्छ । जित्दा अत्यन्तै धेरै उक्सिएर सबै कुरा भएजस्तो अनुभूति गर्नुहुँदैन र हार्दा सबै कुरा सकिएजस्तो पनि ठान्नुहुँदैन । मैले महामन्त्रीमा पहिलोपटक प्रतिस्पर्धा गर्दा सबैभन्दा कम मत ल्याएको थिएँ । त्यसले सकियो भनेर म झिटीगुन्टा बोकेर हिँडिनँ । त्यसपछि अझ संघर्ष गर्नुपर्छ भन्ने लाग्यो । पार्टीको प्रतिस्पर्धालाई फ्रेन्ड्ली र सामान्य रूपमा लिनुपर्छ ।’

विशेष महाधिवेशनमा सहभागी भएका र नभएका नेताबिचको विभाजन अन्त्य हुनुपर्ने धारणा राख्दै उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने दाबी गरे । पार्टीमा लामो समय योगदान दिएका नेतालाई विभिन्न समितिमा समेटेर लैजानुपर्ने अवस्था रहेको थापाले बताए । उनले नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रहसमेत गरे ।

‘विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विभाजन मेटियोस् भन्ने मेरो एउटा चाहना हो । प्रतिस्पर्धी साथीहरूको नाम हेरौँ, सबै केन्द्रीय कार्यसमितिमा हुनुपर्ने साथी हुनुहुन्छ । यति धेरै साथीहरूले प्रतिस्पर्धा गर्दागर्दै भोलि आठ–नौजना इम्पोर्टेन्ट, पार्टीलाई असाध्यै चाहिने साथीहरू विभिन्न पदमा प्रतिस्पर्धा गर्ने अनि केन्द्रीय समितिबाट बाहिर रहने अवस्था बन्दा उहाँहरूको क्षमता, योग्यता र बौद्धिकता सबै पार्टीले प्रयोग गर्न नपाउने हो कि भन्ने कुरालाई मैले अनुरोध गरेको छु,’ उनले भने ।

निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उनले उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन पनि आग्रह गरेका छन् । थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकारसम्पन्न बनाइएको बताउँदै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिनेतर्फ नेताहरूको ध्यानाकर्षण गराए ।

उम्मेदवारी दर्तापछि राठोरले आफू सभापति निर्वाचित भए पार्टीलाई एकताबद्ध बनाउने बताए । अहिले जित्न नसके पनि १६औँ महाधिवेशनमा जित्ने हिसाबले आफू अघि बढिरहेको उनको दाबी छ । ‘२३ र २४ भदौको घटना, पार्टीभित्र विशेष महाधिवेशन र गत निर्वाचनमा कांग्रेसले हारेका कारणले मलाई धेरै ठुलो गाह्रो पर्यो । त्यसपछि लामो समय नेता–कार्यकर्तासँग जिल्लामै बसेँ । त्यसकारण यो अधिवेशनमा मलाई असर पर्छ नै । अहिले जित्न सकिएन भने पनि १६औँ महाधिवेशनमा जित्ने हिसाबले हिँड्छु,’ उनले भने ।

उनले स्वतन्त्र पार्टीले कांग्रेसलाई कमजोर बनाएको र कम्युनिस्टहरूबिच एकता हुन लागेको अवस्थामा कांग्रेसलाई थप एकताबद्ध बनाएर अघि बढाउने दाबी गरे । ‘स्वतन्त्र पार्टीले हामीलाई भित्तामा पुर्याएको स्थिति छ । कम्युनिस्टहरू मिल्दै छन् । कांग्रेसका फरक–फरक दुईवटा अधिवेशन हुँदै छ । म सभापति भएँ भने कांग्रेसलाई एकढिक्का बनाएर लान्छु,’ उनले भने ।

उनले विगतमा आफूले बोकेका नेताहरूले अहिले साथ नदिएर आफू एक्लै मैदानमा उत्रिनुपरेको गुनासोसमेत गरे । ‘विशेष महाधिवेशनको पक्षधर मात्र होइन, जुन नेताहरूलाई मैले ३५ वर्ष साथ दिएँ, ती नेताले आज मलाई उम्मेदवार बनाएर गगनजीको विरुद्ध लड्न सक्नुपर्थ्यो नि । गल्ती सबैको छ, एकथरीको मात्रै होइन । आज म एक्लै मैदानमा उत्रिएको छु,’ उनले भने ।

सुझावित समाचार