काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न इच्छुक संघसंस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहमा बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न इच्छुक सम्बन्धित संघसंस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो।
प्राधिकरणका अनुसार ०७९ भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीबाट तीन जिल्लाका विभिन्न स्थानीय तह प्रभावित भएका थिए। प्रभावित परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्नुपर्नेछ।
अस्थायी आवास निर्माण गर्न इच्छुक संघसंस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय गरी सूचना प्रकाशित भएको सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ।प्रस्तावमा आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, निर्माण गर्ने स्थान र सम्बन्धित स्थानीय तहको नाम स्पष्ट रूपमा खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ।
त्यस्तै, अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित मिति तथा निर्माण सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि प्रस्तावमा समावेश गर्नुपर्नेछ। यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि कुनै सम्झौता भएको भए त्यसको विवरणसमेत प्रस्तावमा उल्लेख गर्न प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले बाढी प्रभावित परिवारको आवश्यकता सम्बोधन गर्न सम्बन्धित संघसंस्थालाई स्वीकृत मापदण्ड र स्थानीय तहसँगको समन्वयमा अस्थायी आवास निर्माण गर्न आह्वान गरेको हो।