कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्यो रसुवा

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउनयोग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा जिल्ला कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो। 

जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी  खोप लगाउनयोग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । जिल्लामा खोप लगाउनयोग्य सबैले पूर्ण खोप पाएसँगै खोप अभियान सकिएको उनको भनाइ छ । ‘जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबैले पूर्ण खोप  पाइसक्नुभएको छ। खोप लगाउन हामीले सञ्चालन गर्दै आएको अभियान सकिएको छ,’ उनले भने, ‘यदि कोही खोप लगाउन छुट्नुभएको छ, हामीकहाँ आउनुभयो भने खोप लगाउछौँ, खोप अभियान हामीले अब सञ्चालन गर्दैनौँ।’

जिल्ला स्वास्थ्य कार्यालयमा ६ सय डोज खोप रहेको छ। खोप लगाउन छुटेका कोही आए लगाइने चालिसेले बताए। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ। जसमध्ये १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १ सय ६ जना रहेका छन्। जसमध्ये २९ हजार १ सय १ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन्। जुन ९९ दशमलब ९९ प्रतिशत हो। 

कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप ३ हजार २ सय ८० जनाले पाएका छन्। २० हजार २ सय १७ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन्। ३ हजार ६ सय ४ जनाले एस्ट्राजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन दुई हजारले लगाएका छन्। 

त्यसैगरी, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९४ दशमलब २८ प्रतिशतले पाएका छन्। कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप १ हजार ३० जनाले पाएका छन्। २० हजार १ सय ५६ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन्। एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ  भने ४ हजार २ सय ५६ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको जनाइएको छ। 

९४ दशमलब २८ प्रतिशत नागरिकले जिल्लामै कोरोनाविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ। बाँकीले पहिलो खोप जिल्लामै लगाए पनि दोस्रो खोप बाहिरी जिल्लामा लगाएको पाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए। ‘पहिलो डोज जिल्लामै लगाए पनि केहीले जिल्लाबाहिर काममा भएको हुँदा उतै लगाएको पाइएको छ, उनले भने, हामीले खोप नभएर नलाएको होइन, खोप छ हामीसँग,  यदि कोही छुटेको हुनुहुन्छ भने हामीसँग खोप छ लगाउँछौँ।’ 

सरकारले आगामी चैतभित्र खोप लगाउन मिल्ने सबैलाई खोप लगाइसक्ने लक्ष्य लिएअनुसार देशभर खोप अभियान जारी रहेको छ। 

सुझावित समाचार