पहिलो दिन : आठ घन्टा ढिलो गरी सुरु, पाँच घन्टा सञ्चालन, दुई घन्टा विदेशी अतिथिको शुभकामना, बाँकी समय ओलीको सम्बोधनमा सकियो
दोस्रो दिन : दिनभरि बन्दसत्र चलेन, शीर्ष नेताहरू सहमति प्रयासमा, महाधिवेशन प्रतिनिधि नाचगानमै व्यस्त, राति १० बजे अध्यक्षमण्डलको बैठक
संसद्को पहिलो राजनीतिक शक्ति एमालेको दशौँ महाधिवेशन सुरु भएदेखि नै चितवनमा धेरैको चासो थियो । शुक्रबार नारायणी नदीमा उद्घाटन सकिएलगत्तै सबैको ध्यान सौराहामा हुने बन्दसत्रतर्फ मोडिएको थियो । तर, महाधिवेशनको बन्दसत्र लामो चलेन, त्यहाँबाट औपचारिक प्रक्रिया मात्रै पूरा भयो ।
दशौँ महाधिवेशनको दोस्रो दिन बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्रको उद्घाटन झन्डै आठ घन्टा ढिलो सुरु भयो । करिब पाँच घन्टा चलेको बन्दसत्रको पहिलो दिनको झन्डै दुई घन्टा समय विदेशी अतिथिको शुभकामनामा बित्यो भने त्यति नै समय अध्यक्ष ओलीको एकल सम्बोधनमा गयो । ओलीको सम्बोधनलगत्तै सुरु भएको बन्दसत्रको प्रक्रियामा उपमहासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष रहेका बन्दसत्रका अध्यक्षमण्डलका अध्यक्ष ओलीलाई ‘सर्वाधिकार’ सम्पन्न बनाउने प्रस्ताव पेस गरे । बन्दसत्र हलले हो– हल्लासहित उक्त प्रस्ताव पारित गरेपछि अध्यक्षमण्डलका सदस्य रहेका र पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले असन्तुष्टि व्यक्त गरे ।
तर, ओलीले समय अभाव रहेको भन्दै रावललाई बोल्न रोकेर ‘आफूले हलमा केन्द्रीय समितिको सूची प्रस्ताव गर्ने र चित्त नबुझे प्रक्रियामा जान सकिने’ भन्दै छलफल अगाडि बढ्न दिएनन् । उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपमहासचिव घनश्याम भुसालले पनि ओलीलाई सर्वाधिकार बनाउने प्रस्तावमाथि असन्तुष्टि राख्न खोज्दा खुलेर बोल्ने समय पाएनन् । रावल र भुसालको असन्तुष्टिसँगै बन्दसत्रको सौहार्द भत्कियो ।
ओली सफारी रिसोर्टबाट दिनभरि निस्किएनन्
अघिल्लो दिन समय अभाव रहेको भन्दै फरक मतलाई समेत राख्न नदिएका ओलीले दोस्रो दिनको बन्दसत्र भने बिहान १० बजेबाटै सुरु गर्ने र त्यहाँ केन्द्रीय समितिको सूची पेस गर्ने भनेका थिए । उक्त विषय पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले प्रतिनिधि र सञ्चारकर्मीलाई शनिबार साँझै जानकारी गराएका थिए । तर, आइतबार ‘सर्वाधिकार’ सम्पन्न ओली आफू बसेको होटेल सफारीबाट दिनभर निस्किएनन् ।
बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र सुरु हुने निश्चित नभएपछि प्रतिनिधिहरू कोही जंगल सफारी त कोही खाजा–नास्तातिर लागे । कतिपय त नाचगान गरेर बन्दसत्र हलको माहोल तताइरहेका थिए । ओली बन्दसत्र हलतिर आउने कुनै छनक नपाएपछि कतिपय नेताहरू ओलीलाई भेट्ने आशामा लाइन लागेर उनी बसेको होटेलमा धाइरहे । तर, ओलीले आफू पक्षका फरक–फरक गुटका शीर्ष नेताहरूबाहेक कसैको कुरा सुन्नु त के भेटसमेत दिइरहेका थिएनन् ।
प्रतिक्रिया माग्दा ओली बसेको होटेलमा उनलाई भेट्न पुगेका कतिपय नेताहरू भन्थे, ‘हामीलाई त थाहा छैन, तपाईंलाई के भन्नु ?’ त्यसैमध्येका एक थिए, पूर्वमन्त्री गोकुल बाँस्कोटा पनि । सञ्चारकर्मीले उनलाई ओलीले बोलाएर आउनुभएको हो भनेर सोधे । उनले ओलीले बोलाएर होइन, अध्यक्षलाई भेट्न आएको हुँ भनेर हिँडे ।
माथिल्लो तहमा के भइरहेको छ भन्ने जानकारी पाउन नसकेपछि प्रतिनिधि बनेर आएका कतिपयप नेता–कार्यकर्ता सञ्चारकर्मीसँग त्यसको जानकारी मागिरहेका थिए । अध्यक्षले केन्द्रीय समितिको सूची प्रस्ताव गर्ने भन्ने कुरा थाहा पाएपछि उनीहरू ‘ए त्यसो भए त हाम्रो काम रहेनछ, भोट पनि हाल्न नपाइने भो’ भन्दै घर फर्किने मनस्थितिमा देखिन्थे । प्रतिनिधि र पर्यवेक्षकको परिचयपत्र वितरण र बस्ने होटेलको गतिलो व्यवस्था नभएका कतिपय कार्यकर्ता त ‘बेकार समय खेर गयो’ भन्दै झोला बोकेर बन्दसत्रस्थलको बाहिरपट्टि गुनासो पोखिरहेका देखिन्थे ।
गतिलो व्यवस्थापन भएका र चासो राख्नेहरू भने नाचगान र दौडधुपमा बराबर समय खर्चिरहेका थिए । सुदूरपश्चिमबाट आएका प्रतिनिधिले बिहानबाटै सुरु गरेको देउडा नाच करिब मध्याह्नसम्म चलाए । अरू पनि नाचगानका कार्यक्रम बन्दसत्रस्थलमा देखिन्थे ।बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रका लागि हलमा प्रवेश गर्न साढे ११ बजेसम्म गेटमा प्रतिनिधिको लाइन थियो । उनीहरू खाना खाँदै कोही हलतिर त कोही घुम्न निस्किरहेका थिए । शीर्ष नेताहरूबीच चलिरहेको सहमतिवाला प्रयासबारे बेखबर प्रतिनिधिहरू भीम रावललाई देख्नेबित्तिकै अब कार्यक्रम सुरु हुन थाल्यो भन्दै सतर्क हुन्थे, जब ओली नआई केही हुँदैन भन्ने थाहा पाउँथे घाममा निदाएर बस्थे ।
ओली आफैँ बसेको होटेलमा सहमतिको प्रयास गरिरहेका छन् भन्ने चर्चा प्रतिनिधिबीच चलिरहेको थियो । तर, उम्मेदवारीको घोषणा गरेका भीम रावल र घनश्याम भुसाल बन्दसत्र हल भएको सेभेन स्टार होटेल परिसरमा नै देखेर प्रतिनिधिहरू अचम्ममा परिरहेका थिए । उता होटेल सफारीमा ओली उम्मेदवारी घोषणा गरेका रावल र भुसाल होइन, आफ्नै विश्वासपात्र भनिएकाहरूका बीचमा जन्मिएका गुटहरूको व्यवस्थापनमा लागिरहेका थिए । त्यसैभित्र दशबुँदे पक्षधर र माओवादीलगायत पार्टीबाट प्रवेश गरेकाहरूको व्यवस्थापन पनि चलिरहेको थियो ।
तर, प्राथमिकतामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुवास नेम्वाङ तथा महासचिवका उम्मेदवार विष्णु पौडेल गुट र वरिष्ठ उपाध्यक्षका उम्मेदवार ईश्वर पोखरेल र महासचिवका उम्मेदवार शंकर पोखरेल गुट थिए । त्यहीँभित्र अरूलाई व्यवस्थापन गर्ने विषय पनि चली नै रहेको थियो । जब रावल र भुसालको विषय आउँथ्यो बन्दसत्रस्थलमा रहेका उनीहरूलाई विष्णु पौडेलले फोन गरेर ओली बसेको होटेलमा निमन्त्रणा गर्थे । त्यसमा भीम रावल ‘ओलीले छलफल गर्न चाहेको भए आफैँले बोलाउनुपर्ने’ भन्दै जान अस्वीकार गर्थे भने भुसाल पौडेललाई ‘बन्दसत्र हलमा नै आएर छलफल गरौँ’ भनेर जवाफ दिन्थे ।
बन्दसत्र चल्ने समय पटक–पटक परिवर्तन
न समयमा बन्दसत्र सुरु हुन सक्यो, न त ओलीसँग चाहेजस्तो संवादको सम्भावना नै रह्यो । दिउँसो करिब साढे ४ बजेपछि विशाल भट्टराईले ओली बसेको होटेलबाट बाहिरिँदै गर्दा साँझ ७ बजे मात्रै बन्दसत्र सुरु हुने सूचना बाहिर ल्याए । त्यसपछि भीम रावलले चासो राखिरहेका प्रतिनिधि र सञ्चारकर्मीसँग ‘समयमा बन्दसत्र सुरु नगरेर होटेलका कोठा छलफल चलाउनु विधि र पद्धतिविपरीत’ भएको भन्दै आपत्ति जनाए । त्यसैलाई उनले केही समयपछि ट्विटरमार्फत सार्वजनिक गरे ।
साँझ ७ बजेबाट बन्दसत्र सुरु हुने भनेपछि बिहान १० बजेबाट पर्खेर थाकेका प्रतिनिधि करिब ४ बजे नै हलबाट हिँडिसकेका थिए । जब बन्दसत्र सुरु हुने भनिएको साँझको ७ बज्यो, त्यसको १५ मिनेपछि बल्ल एमाले कार्यालय सचिव शेरबहादुर तामाङले सूचना प्रवाह गराए, ‘बन्दसत्र राति ८ बजेबाट सुरु हुने अध्यक्षमण्डलको बैठक बस्दै ।’
८ बजे पनि बन्दसत्र सुरु भएन । त्यतिन्जेलसम्म धेरैजसो नेताहरू ओली बसेको होटेलबाट निस्किसकेका थिए । विष्णु पौडेल पनि प्रस्तावित सूचीको नाम सम्बोधन गर्दै प्रिन्ट गर्न होटेलको रिसेप्सनमा आइरहे । ८ बजेतिर निस्किएका प्रदीप ज्ञवालीले भने, ‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ ।’
८ बजेपछि बन्दसत्रआसपास सुरक्षा व्यवस्था कडा पारियो, तर ९ बजेसम्म ओली पुगेनन् । खाना खाएर आएका प्रतिनिधि बन्दसत्र सुरु हुने समय कुर्दै बसे । ९ बजेर ४० मिनेट जाँदा ओली बन्दसत्रको हलमा प्रवेश गरे । ओली बन्दसत्र प्रवेश गर्दा नारा लाग्यो, ‘वी लभ यु ओली बा ।’ उनीहरूले ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नाराबाजी पनि गरे ।
बन्दसत्र सुरु हुनपूर्व राति १० बजे अध्यक्षमण्डलको बैठक बस्यो । लगत्तै भीम रावल बन्दसत्रबाट बाहिरिए । ओली नेतृत्वको अध्यक्षमण्डलमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य छन् । बैठकले सहमति नजुटेका पदमा निर्वाचन हुने निर्णय गरेको छ ।