प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले तय गर्‍यो आन्दोलनका थप कार्यक्रम (भिडियोसहित)

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसियसनले आन्दोलनका थप कार्यक्रम तय गरेको छ । मंगलबार साँझ बसेको बार कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो ।  

आगामी आन्दोलनमा सर्वोच्च अदालतअगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बारका महासचिव लिलामणि पौडेलले ३ मंसिरमा संसदमा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापनपत्र बुझाउने जानकारी दिए । यस्तै, नेपाल बारले प्रधानन्यायाधीशविना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

यस्तै, जबराले अहिलेसम्म गरेका विवादित फैसलासम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णय पनि गरेको छ । नेपाल बारले आन्दोलनमा कालो कोट लगाएका राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ । यस प्रकारको भ्रामक समाचारको विश्वास नगर्न बारले अनुरोध गरेको छ । 
साथै, सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्धसैनिकबल प्रवेश गराई विरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै बैठकले निन्दा गरेको छ । बारले आन्दोलन अवधिभर प्रधानन्याधीश उपस्थित सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय पनि गरेको छ । 

यस्तै, न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन अनुरोध गर्ने निर्णय पनि बारले गरेको छ ।
 

सुझावित समाचार