कानुन व्यवसायी भन्छन्– राजनीतिक दलहरू मौन हुनु शोभनीय भएन

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

कानुन व्यवसायीहरूले आवश्यक पर्दा राजनीतिक दलहरू मौन बस्नु शोभनीय नभएको बताएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा बसेको धर्नापछिको कार्यक्रममा बोल्दै कानुन व्यवसायीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्। कार्यक्रममा अधिवक्ता कपिलचन्द्र घिमिरेले भने, ‘आफूलाई समस्या पर्दा नेपाल बार बोलिदियोस् भन्ने राजनीतिक दलहरू मौन हुनु शोभनीय भएन।’

यसैगरी अधिवक्ता तथा नेपाल बारका पूर्वमहासचिव विजय मिश्रले आवश्यक समयमा चाल्न नसकेको कदमको कुनै महत्व नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने बताए। मिश्रले भने, ‘वेलामा लिन नसकेको एक्सन र विचारको कुनै महत्त्व हुँदैन। प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ।’

प्रधानन्यायाधीश जबराका कारण न्यायालयमा थप विकृति मौलाएको आवाज उठाउँदै आएका कानुन व्यवसायी जबराले मन्त्रिमण्डलमा भाग खोजेको भन्ने विषय बाहिरिएपछि चरणबद्ध आन्दोलनमा छन्।

धर्नापछि आयोजित कार्यक्रममा बोल्दै अर्का अधिवक्ता कुलबहादुर बोगटीले जबरा असफल भइसकेको भन्दै असफल नेतृत्वबाट न्याय सम्पादन सम्भव नरहेको टिप्पणी गरे। ‘प्रधानन्यायाधीशले अदालतमा भ्रष्टाचार छैन भनेर झुट बोले। यस्तो असफल  नेतृत्वबाट न्याय सम्पादन सम्भव छैन,’ अधिवक्ता बोगटीले भने।

यस्तै अर्का अधिवक्ता बालकृष्ण ढकालले जबराले राजीनामा नदिए न्यायालय कोमामा जाने बताए। उनले भने, ‘सम्माननीयभन्दा सम्मानित हुने ठाउँ छैन।अझै राजीनामा नदिए न्यायालय कोमामा जान्छ। क्षयीकरण हुन्छ।’

सुझावित समाचार