भाडा समायोजनको माग राख्दै व्यवसायीले सडकमै तेर्स्याए गाडी (तस्बिरसहित)

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले भाडादर समायोजन नगरेको भन्दै यातायात व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले आज सोमबार बिहानैदेखि उपत्यकाको चक्रपथ क्षेत्रमा करिब पाँच सय सवारीसाधन सडकमै लामबद्ध राखेर विरोध प्रदर्शन गरेका हुन्।

आफूहरूले तोकेअनुसार नै भाडादर समायोजन हुनुपर्ने भन्दै उनीहरूले सडकमै बस तेर्स्याएर चाबी लगाएका छन्। पुरानै भाडादरमा सार्वजनिक यातायात सञ्चालन गर्दा घाटा हुने भन्दै उनीहरूले भाडादर बढाउन माग राखेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले लामो समयदेखि भाडादर समायोजन गर्नेबारे सरकारले चासो नदिएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएको बताए। महासंघले पनि प्रदेश सरकारलाई भाडा समायोजन गर्न आग्रह गरे पनि त्यसको सम्बोधन नभएको उनको भनाइ छ। ‘संघीय सरकारले भाडादर उहिले नै बढाएको थियो। तर, प्रदेश सरकारले अझै पनि भाडादर समायोजन गरेको छैन। उपत्यकाभित्र कुन जिल्लाबाट कुन जिल्लामा जाँदा कति भाडा लिने त्यसमा सरकारले तोकेको छैन,’ उनले भने, ‘सरकारले सामान्य विषयमा चासो नदिँदा समस्या उत्पन्न भएको हो।’

व्यवसायीले सडकमा सवारीसाधन तेर्स्याउँदा चक्रपथ क्षेत्रमा जाम बढेको छ। ट्राफिक प्रहरीले सडकमा सवारीसाधन तेर्स्याउँदा जाम बढ्ने भन्दै सवारीसाधन हटाउन आग्रह गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सुझावित समाचार