प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मन्त्रीको कोटा नमागेको स्पष्ट पारेका छन्। सोमबार सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसँगको भेटमा प्रधानन्यायाधीश जबराले यी हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्।
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशसमेतलाई कोटा छुट्याइएको समाचार सार्वजनिक भएपछि बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरासँग आज साढे १० बजे भेट गरेका थिए। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा सचिव ऋषिराम घिमिरेसहित बारको कार्यसमितिले प्रधानन्यायाधीशलाई यसबारे गम्भीर ध्यानाकर्षण गराएको थियो।
भेटमा सहभागी सर्वोच्च बारका सचिव घिमिरेका अनुसार भेटका क्रममा प्रधानन्यायाधीश जबराले समाचारमा कुनै सत्यता नरहेको बताएका थिए। प्रधानन्यायाधीश जबराले यसबारे छिट्टै विज्ञप्ति निकालेर खण्डन गर्ने बताएका थिए।
‘यस्तो समाचार आएपछि हामीले प्रधानन्यायाधीशको गम्भीर ध्यानाकर्षण गरायौँ,’ सचिव घिमिरेले नयाँ पत्रिकासँग भने, ‘जवाफमा प्रधानन्यायाधीशज्यूले यसमा कुनै सत्यता नरहेको बताउनुभयो। यो विषयमा छिट्टै विज्ञप्तिमार्फत खण्डन गरिने हामीलाई जानकारी गराउनुभएको छ।’