तालिवानले अफगानिस्तानलाई पूर्ण रूपमा नियन्त्रणमा लिएसँगै विश्व समुदायमा अफगानिस्तानको भविष्य कस्तो हुन्छ भन्नेबारे चर्चा हुन थालेको छ। तालिवान नेतृत्वको सरकारलाई विश्व समुदायले राष्ट्रको मान्यता नदिन पनि सक्छ भन्ने आशंकाहरू पनि सुरु भएको छ।
तर, चीनले भने तालिवानसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताएको छ। सोमबार पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले यस्तो बताएकी हुन्। उनले भनेकी छिन्, ‘स्वतन्त्र रूपमा आफ्नो भविष्य निर्धारण गर्न पाउने अफगानिस्तानी जनताको अधिकारलाई चीनले सम्मान गर्दछ। चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकास गर्न चाहन्छ।’
रुसी राजदूत र तालिवानबीच भेटवार्ता हुने
रसियाले भने अफगानिस्तान दूतावासबाट केही कर्मचारीहरूलाई फिर्ता बोलाउने जनाएको छ। अफगानिस्तानमा रहेका भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जामिर काबुलोभका अनुसार रसियाले दूतावासमा भएका लगभग सयजना कर्मचारीहरूमध्ये केहीलाई मात्रै फिर्ता बोलाउनेछ। रसियन अधिकारीहरूका अनुसार अफगानिस्तानका लागि रसियन राजदूतले मंगलबार तालिवानी प्रतिनिधिहरूसँग रसियाको कूटनीतिक मिसनको सुरक्षाबारे संवाद गर्नेछन्।