जेठयता काठमाडौं उपत्यकाको फोहोर बोकेर गएका धेरैजसो कन्टेनर ४५ दिनभन्दा बढी सिसडोलमा अड्किए । झरी परिरहेका कारण ६ देखि ११ जेठ र १८ देखि २४ जेठसम्म सिसडोलमा फोहोरका कन्टेनर रोकिए । ७ देखि १६ असारसम्म उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या आयो । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक भत्किएको र कन्टेनर फोहोरमा फसेपछि १० दिनसम्म फोहोरका गाडी आवतजावतमा समस्या भयो ।
साउन लागेपछि फोहोर व्यवस्थापनको समस्या झन् बढ्यो । साउनको पहिलो साता कन्टेनर फोहोरमा फसेपछि उपत्यकाको फोहोर उठ्न सकेन । बीचमा केही समय फोहोर उठे पनि पछिल्लो १२ दिनदेखि फोहोर उठ्न छाडेको छ । उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।फोहोर बोकेर गएका गाडी सिसडोलमै फस्न थालेपछि उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या सिर्जना हुने गरेको हो ।
फोहोरमाथिबाट कन्टेनर गुडाउनुपरेपछि फोहोरमै कन्टेनर फस्ने गरेको चालकहरूको भनाइ छ । काठमाडौं महानगरपालिका पूर्वफोहोर कन्टेनर चालक मचबाबु मालाकारले जेठयता ४५ दिनभन्दा बढी फोहोरका गाडी सिसडोलमा रोकिएको बताए । अन्य बाटो नभएका कारण फोहोरमाथि गाडी गुडाउनुपर्ने बाध्यता महानगरले बुझ्न नसकेको उनको भनाइ छ । ‘त्यहाँ फोहोर माथिबाट गाडी गुड्छ, तर अर्को विकल्प खोजिएको छैन, हामीले धेरैपटक महानगरलाई अनुरोध पनि गरेका थियौँ,’ उनले भने ।
देशकै राजधानी उपत्यकाभित्र फोहोर व्यवस्थापनमा लापरबाही छ । सरकारी निकायको गैरजिम्मेवारीले दिनहुँ उठ्नुपर्ने फोहोर महिनौसम्म पनि उठ्दैन पछिल्लोपटक उपत्यकामा फोहोर नउठेको डेढ हप्ता भइसक्यो । यसअघि दैनिक रूपमा उठ्दै आएको फोहोर हाल नउठ्दा सहर दुर्गन्धित बनेको छ । उपत्यकाका चोक, गल्ली र सडकमा फोहोर थुप्रिएको देखिन्छ । फोहोर उठाउन महानगरको गाडी नआएपछि सहरवासी घरभित्र उत्पादन हुने फोहोर घरमै राख्न बाध्य छन् । ‘घरभित्र राख्ने ठाउँ छैन, त्यसैले सडकमा लगेर फोहोर थुपारेका छौँ,’ शान्तिनगरका रमेश कार्कीले भने, ‘फोहोर नउठेको १२ दिन भयो ।’

उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आइरहेको काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण विभाग भने अझै १०÷१५ दिन फोहोर नउठ्ने बताउँछ । पानी परिरह्यो भने महिना दिनसम्म पनि फोहोर व्यवस्थापन गर्न नसकिने वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले सहरी विकास मन्त्रालयले नयाँ ल्यान्डफिल्ड साइट तयार नगर्दा यस्तो समस्या निम्तिएको जानकारी दिए । ‘गत वर्षदेखि नै बन्चरेडाँडा तयार हुन्छ भनेर प्रचार भयो, तर हालसम्म पनि ल्यान्डफिल्ड साइट तयार भएको छैन,’ उनले भने, ‘नयाँ ठाउँ तयार नहुँदा ८० मिटर फोहोरमाथि फोहोरका गाडी गुडाउनुपरेको छ, त्यसमा गाडी धसिएर समस्या भएको हो ।’ उनले अब एक महिनाको फोहोर व्यवस्थापन गर्ने ठाउँसमेत नपुग्ने बताए ।
फोहोर नउठेको जिम्मेवारी महानगरले लिनुपर्छ
रमेशप्रसाद सिंह, सचिव, सहरी विकास मन्त्रालय
केही दिनयता उपत्यकाको फोहोर उठेको छैन । फोहोर नउठेको जिम्मेवारी महानगरले नै लिनुपर्छ । बन्चरेडाँडा ल्यान्डफिल्ड साइट तयार हुन अझै ६ महिना लाग्छ । बीचमा केही प्राविधिक समस्या भएकाले काममा ढिलो भएको हो ।
बन्चरेडाँडा तयार हुन्छ भनेर अरू विकल्प खोजेनौँ
हरिकुमार श्रेष्ठ, महानगरपालिका वातावरण विभाग प्रमुख
गत वर्षदेखि नै बन्चरेडाँडा तयार हुन्छ भनेर सहरी विकास मन्त्रालयले प्रचार गर्यो । तर, हालसम्म पनि ल्यान्डफिल्ड साइट तयार भएको छैन । नयाँ ठाउँ बन्ने भएपछि हाम्रो पनि तयारी भएन । ठाउँ नै नभएको क्षेत्रमा हामीले फोहोर कसरी फाल्ने ?
घरघरको फोहोर अझै १५ दिन नउठाइने
महानगरपलिकाले अझै १५ दिन फोहोर उठ्न नसक्ने बताएको छ । तर, १५ दिनपछि उपत्यकामा फोहोर थुप्रिएर बसिनसक्नु हुने देखिन्छ । उपत्यकावासीको घरघरको फोहोर नउठाएर सडक र चोकमा थुप्रिएको फोहोर मात्रै उठाउने तयारी महानगरले गरेको छ । वर्षात्का कारण फोहोर बोकेका गाडी फोहोर क्षेत्रमा फस्न थालेपछि व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । ‘अहिले फोहोरका गाडी सहजै ओहोरदोहोर गर्ने अवस्था छैन, फोहोरमाथि गुडेका छन्,’ उनले भने, ‘त्यसैले हाललाई सडकछेउछाउको मात्रै फोहोर उठ्छ ।’

फोहोर बोकेरै फर्किए ३० कन्टेनर
उपत्यकाबाट फोहोर बोकेर सिसडोलतर्फ गएका कन्टेनर सिसडोलमा फोहोर खन्याउन नसकिने भएपछि फर्कने गरेका छन् । पहिल्लो समय फोहोर बोकेर सिसडोल गएका ३० वटाभन्दा बढी कन्टेनर फर्किएका छन् । फोहोर र हिलोमा फस्ने डर देखिएपछि चालकहरूले बीच बाटोबाट फोहोरका कन्टेनर फर्काउने गरेका छन् । फोहोर बोकेका ती कन्टेनर, टेकु, बागमती नदी किनार, कालीमाटी, कमलपोखरी क्षेत्रमा राखिएको छ । फोहोर लोड गरिएको गाडी बाटोमै रोक्दा ओहोरदोहोर गर्नेलाई गन्हाएर सास्ती हुने गरेको छ ।
बन्चरेडाँडा ल्यान्डफिल साइटको काम अझै ३० प्रतिशत बाँकी
गत वर्षको सहमतिअनुसार सहरी विकास मन्त्रालयले साउनभित्र बन्चरेडाँडा ल्यान्डफिल साइट तयार पार्ने प्रतिबद्धता जनाएको थियो । तर, बन्चरेडाँडाको अझै ३० प्रतिशत काम बाँकी छ । ६ महिनामा बाँकी काम सकिने मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले बताए । प्राविधिक समस्या र लकडाउनका कारण ल्यान्डफिल्ड साइट निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । यी दुई निकाय जिम्मेवार नहुँदा उपत्यकामा फोहोरको डंगुर थुप्रन थालेको हो । नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडा पुग्न दुई किमि सडक निर्माण भइसकेको छ । तर, फोहोर फाल्ने ठाउँ तयार नहुँदा त्यहाँ फोहोर लैैजान सकिएको छैन ।
उपत्यकाभित्र अहिले अधिकांश फोहोर सडकमै थुप्र्रिएको छ । कोटेश्वर, सातदोबाटो, लगनखेल, जावलाखेल, नयाँबानेश्वर, पुतलीसडक, बागबजार, कमलादी, सुन्धारा, ठमेल, सोह्रखुट्टे, कालीमाटी, कलंकी, गोंगबु, चाबहिल, गौशालालगायत ठाउँमा फोहोर उठेको छैन । सहरवासीले घरमा फोहोर भरिएपछि सडकमै थुपार्न बाध्य छन् ।
सिसडोलमा फोहोर थुपार्न थालेको १६ वर्ष नाघेको छ । नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडा तयार नहुँदा सिसडोलमा फोहोरको अझै भार थपिएको छ । फोहोर भरिँदै आएपछि फोहोरमाथि नै बाटो बनाएर त्यहाँबाट केही पर ओखरपौवासम्म पु¥याउने गरिएको छ । सहरी विकास मन्त्रालयले बन्चरेडाँडामा ल्यान्डफिल्ड साइट तयार नगर्दा यो सबै समस्या उत्पन्न भएको हो । बन्चरेडाँडा तयार नभएसम्म सिसडोलको फोहोर व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ ।
नयाँ ल्यान्डफिल्ड साइट तयार नभएपछि महानगरले फोहोर उठाउने सम्बन्धमा सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको थियो । तर, मन्त्रालयले नयाँ ल्यान्डफिल्ड साइट तयार गर्न अझै ६ महिना लाग्ने बताएको थियो । ‘यो वर्षदेखि सहरी विकास मन्त्रालयले बन्चरेडाँडा तयार पारेर फोहोर फाल्न तयार हुने प्रतिबद्धता दिएको थियो, हामीले सोहीअनुसार पूर्वतयारी गरेनौं,’ श्रेष्ठले भने, ‘पुरानो ठाउँ भरियो, नयाँ ठाउँ तयार भएन, समस्या यही हो ।’