लमजुङमा निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

भूकम्प गएको ६ वर्षमा लमजुङमा १० हजार चार सय ४४ घर पुनर्निर्माण भएको छ । आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले विनाशकारी भूकम्पमा भत्किएका आवास पुनर्निर्माणमा हालसम्म तीन अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ खर्च भएको जनाएको छ । 

जिल्लामा आवास पुनर्निर्माण नगर्ने भनी स्वेच्छाले पहिलो किस्ताको ५० हजार र दुईजनाले दोस्रो किस्ता एक लाख ५० हजार रकम फिर्ता गरेको आयोजना कार्यान्वयन एकाइका फोकल पर्सन विनायक दवाडीले बताए । उनका अनुसार जिल्लामा हालसम्म १० हजार चार सय ४४ लाभग्राहीले आवास पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम बुझिसकेका छन् । दोस्रो किस्ता लिनेको संख्या १२ हजार ६६ छ । 

जिल्लामा लाभग्राहीको संख्या १५ हजार पाँच सय ७८ छ । हालसम्म पहिलो किस्ताबापत ५० हजारका दरले ७३ करोड १३ लाख ५० हजार रुपैयाँ निकास भइसकेको छ । त्यसैगरी, दोस्रो किस्ताबापत एक अर्ब ८० करोड ९९ लाख र तेस्रो किस्ताबापत एक अर्ब ४४ करोड चार लाख रुपैयाँ खर्च भएको हो ।

जिल्लामा पुनर्निर्माण सुरु भएको चार वर्षमा ७४ प्रतिशत निजी आवास पुनर्निर्माण भएको आयोजना कार्यान्वयन कार्यालयले जनाएको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दूधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । 

सुझावित समाचार