एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको बताएका छन् । नेपालले पार्टी एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने उनको भनाइ छ ।
शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौंको ए–वान पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेपालले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे ।
निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरू तयार रहेको उनको भनाइ छ । उनले भने ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर, एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हट्नुहुँदैन । तर, त्यो अन्तिम उपाय मात्रै हुनेछ । अझै पनि कोसिस गरौँ । अझै पनि केपीलाई सुधार्ने कोसिस गरौँ । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भनी हामी अन्तिम पर्खाइमा रहेका छौँ ।’
नेपालले पार्टी एकताका लागि आफूहरूले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि बताए । उनले संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुपरेको पनि दोहो¥याए ।