कांग्रेस महाधिवेशन : पुरानो कार्यतालिका प्रभावित, अझै आएन नयाँ तालिका (भिडियोसहित)

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन निर्वाचित समयमा नहुने निश्चित भए पनि नयाँ तालिका अझै आएको छैन । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि नयाँ तालिका पेस हुन सकेन ।

केन्द्रीय सदस्यको सुझाबको आधारमा महाधिवेशन कार्यतालिका सार्वजनिक हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरे पनि क्रियाशिल सदस्यता नै अझै टुंगिएको छैन । वडा अधिवेशनसमेत हुन नसकेको अवस्थामा महाधिवेशन निर्वाचित मितिमा नहुने निश्चित छ, तर नयाँ मितिबारे पनि कांग्रेसमा सहमति जुटेको छैन । 

बिहीबारको बैठकमा उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजनसम्बन्धी प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिकासम्बन्धी प्रस्ताव र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील छानबिन समितिको  प्रगति विवरण पेस गरेका छन् ।

महाधिवेशनमा उम्मेदवार हुन केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तिर्नुपर्ने प्रस्ताव निर्वाचन समितिले गरेको छ। यसअघि सभापतिको २० हजार र अरुको १० हजार रुपैयाँ थियो।

बैठकमा क्रियाशील सदस्यता प्रतिवेदनमा छानबिन समितिका सदस्य कल्याण गुरूङले फरक मत राखेका छन भने सदस्य आनन्द ढुंगानाले केही विषय छुटेको र समावेश गर्नुपर्ने बताएका छन् । 

 बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने शर्माले बताए ।

क्रियाशील सदस्यताको केही विवाद रहे पनि त्यसलाई थाती राखेर महाधिवेशन अघि बढाउनुपर्ने नेता प्रदीप पौडेल बताउँछन् । यसअघि पनि सदस्यता विवाद रहेकै अवस्थामा महाधिवेशन भएको उनले स्मरण गराए ।

सुझावित समाचार