देउवानिवासबाटै चल्दै छ कांग्रेस : कार्यालय किन जाँदैनन् नेता ?

केन्द्रीय कार्यालयमा सभापतिविरुद्ध विरोध प्रदर्शनको तयारी भएपछि बुढानिलकण्ठ सारियो बैठक

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

 प्रधानमन्त्री एव‌ं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको केन्द्रीय समितिको बैठक आफ्नै निवासमा राखेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक साताअघि नै ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर, देउवाले अन्तिम समयमा बैठकको भेन्यु सारेर आफ्नै निवासमा बैठक बोलाएका हुन् । 

१४औँ महाधिवेशनको संघारमा क्रियाशील सदस्यताको विवादका कारण केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको धर्ना जारी छ । त्यही कारण देउवाले पार्टीका सबै काम निवासबाटै गरिरहेका छन् । उनी केन्द्रीय कार्यालय नपुगेकै महिनौँ बितेको छ । असार ४ र ५ गतेको केन्द्रीय समितिको बैठकपछि देउवा केन्द्रीय कार्यालय नै गएका छैनन् । केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर करिब एक महिनायता नेता–कार्यकर्ताले निरन्तर धर्ना दिइरहेका छन् । फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दै अहिले पनि रौतहट र बाराका नेता–कार्यकर्ताले धर्ना जारी छ ।  

एक नेताका अनुसार सभापति देउवाविरुद्ध पार्टी कार्यालयमा विरोध प्रदर्शन तयारी भएको थाहा पाएपछि बैठक बुढानीलकण्ठमै बस्ने तयारी भएको हो । त्यसो त क्रियाशील सदस्यताको विवादलाई लिएर साउन पहिलो साता नेता–कार्यकर्ताले देउवानिवासकै अघि पुगेरसमेत प्ले–कार्डसहित विरोध प्रदर्शन गरेका थिए । 
प्रधानमन्त्री भएलगत्तै पार्टीका भेला र बैठकहरू सरकारी निवासमा नगर्ने प्रतिबद्धता जनाएका देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसम्म सहभागी हुने अधिकांश बैठक बुढानीलकण्ठमै बसाउँछन् । केन्द्रीय कार्यसमितिकै बैठक उनको निवासमा बस्न लागेको यो पहिलोपटक हो । 

‘म त सानेपा जाने तयारीमा थिएँ, तर अचानक उता बस्ने मेसेज आयो । बुढानीलकण्ठमा यसरी बैठक बस्न लागेको त यो पहिलोपटक नै हो,’ एक केन्द्रीय सदस्यले भने । कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिमा एक सय २५ जना छन् । जब कि देउवानिवासमा त्यत्तिका मान्छे अटाएर बैठक गर्न सकस हुने निश्चित छ । सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति, वरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीका लागि छुट्टा–छुट्टै कार्यकक्ष छन् । तर, त्यहाँ नेताहरू भने कमै मात्र भेटिन्छन् । नेताहरूले सबै भेटघाट र छलफल निवासबाटै गर्ने गरेका छन् । अब त केन्द्रीय समितिको औपचारिक बैठक नै निवासमा बस्न लागेको छ । 

बैठकमा मुख्य तीन एजेन्डा
बिहीबार बस्ने बैठकमा मुख्य गरी तीन एजेन्डा तय गरिएको छ । बैठकमा क्रियाशील सदस्यताको विवाद, निर्वाचन निर्देशिका र १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल हुनेछ । ‘बैठकले अन्तिम चरणमा पुगेको निर्वाचन निर्देशिकामाथि छलफल गरेर पास गर्छ, क्रियाशील सदस्यताको टुंगो लगाउने र महाधिवेशनको नयाँ कार्यतालिका पनि आउन सक्छ,’ एक नेताले भने । 

केन्द्रीय समिति बैठकअघि शीर्ष नेताहरूले बसेर सहमतिको खाका प्रस्तुत गर्ने र त्यही विषयमा केन्द्रीय समितिका सदस्यहरूले छलफल गरेर टुंगो लगाउने जनाइएको छ । ती नेताका अनुसार अहिले महाधिवेशनबारे मुख्य गरी दुईवटा कुरा भइरहेको छ । पहिलो– भदौमै महाधिवेशन सम्पन्न गर्ने गरी वा भदौमै महाधिवेशन सुरु गरेर छठ आसपाससम्ममा महाधिवेशन सम्पन्न गर्ने । र, अर्को तत्काललाई कोभिड–१९ को बढ्दो संक्रमणका कारण महाधिवेशन गर्न नसकिने अवस्था भएकाले केही महिनासम्म पर्खिने र तब मात्रै कार्यतालिकाबारे निर्णय गर्ने ।

प्रधानमन्त्री देउवाले कोरोना फैलिने भन्दै सचेत गर्न भिडियो सन्देश मात्रै दिएका छैनन्, सरकारकै निर्देशनमा ठाउँ–ठाउँमा निषेधाज्ञा छ, उपत्यकामा पनि निषेधाज्ञा जारी छ । यस्तो वेला भदौमै हजारौँ कार्यकर्ता भेला गरेर महाधिवेशन गर्ने कुरा व्यावहारिक नहुने नेताहरूको तर्क छ । ‘आफू सरकारमा बसेर अरूलाई भिड नगर भन्ने, २५ जना पनि भेला नहोऊ भन्ने । अनि ‘आफ्नै पार्टीको महाधिवेशन गरेर कार्यकर्तालाई कोरोनाबाट मर’ भनेर कसरी भन्ने ? त्यही कारण महामारी थप फैलिन पनि सक्छ,’ ती नेताले भने । 

तर, महामारीलाई कारण बनाएर भदौमै महाधिवेशन गर्दा पार्टीको वैधानिकतामाथि प्रश्नचिह्न खडा हुन्छ । त्यसो त कांग्रेसले कार्यतालिका बनाएर महाधिवेशन गर्न नसकेको अर्थात् फेरबदल गरेको पाँचपटक भइसकेको छ । महाधिवेशन नै नगरी आफ्नो वैधानिक कालसमेत गुजार्दै छ । संविधानअनुसार साढे पाँच वर्षमा प्रदेश र केन्द्रीय कार्यसमितिको चुनाव गरेर त्यसको विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ । आगामी २३ भदौमा कांग्रेसको १३औँ महाधिवेशन भएको साढे पाँच वर्ष पूरा हुन्छ । २३ भदौपछि कांग्रेसको वैधानिकता के हुने भन्ने प्रश्न पनि छँदै छ । 

तर, हालका लागि दोस्राे विकल्प उपयुक्त हुने कतिपय नेताहरूको भनाइ छ ।  सभापति देउवा र वरिष्ठ नेता पौडेल मिलेसम्म तत्कालै महाधिवेशन गर्ने पक्षमा छन् । तर, महामारीका कारण उनीहरूले त्यसो गर्न पाउने छैनन् । त्यसमाथि निर्वाचन समितिले मागेको समयावधि पनि उनीहरूका लागि बाधक बन्नेछ । निर्वाचन समितिले मतदाताको नामावली पाएपछि अधिवेशनका लागि ५३ दिनको समय मागेको छ । जब कि अब पाँच दिनभित्र नामावली दिएपछि त्यसरी महाधिवेशन सम्पन्न गर्न ५३ दिन अर्थात् असोजको अन्तिम सातासम्म लाग्छ । तर, २१ असोजदेखि नै दशैँ सुरु हुन्छ । महाधिवेशनका विभिन्न विकल्पहरूमाथि छलफल भइरहेको र बिहीबारको बैठकले एउटा निचोड दिने ती नेताको भनाइ छ । 

टुंगिएको छैन क्रियाशील सदस्यताको विवाद
कांग्रेसको महाधिवेशनका वडा तहका मतदाता नै क्रियाशील सदस्य हुन् । महाधिवेशन कार्यतालिकाअन्तर्गत अधिवेशन हुने सात तहमध्ये वडा तह नै पहिलो हो । तर, वडा तहका मतदाताकै टुंगो लागेको छैन । सभापति देउवाले वरिष्ठ नेता पौडेल र सिटौलासँग छलफल गरेर क्रियाशील सदस्यताको विवाद टुंगोमा पुग्ने प्रयास गरे पनि त्यो निर्णय सार्वजनिक भएको छैन । त्यसो त क्रियाशील सदस्यता छानबिन समितिले गरेको निर्णयसमेत सार्वजनिक भएको छैन । समितिले १२ साउनमै ८ लाख ५२ हजार सात सय ११ जना सदस्यको छानबि पूरा गरी सभापतिलाई बुझाएको थियो । तर, क्रियाशील सदस्यताको विषयमा छानबिन समितिले टुंग्याउन नसकेका र कतिपय ठाउँमा टुंगो लगाएकै विषयमा पनि चर्को असन्तुष्टि छ । 

जिल्ला सभापतिहरूको भेलाले छानबिन समितिले छानबिनप्रति विश्वास नभएको भन्दै क्रियाशील सदस्यको नामावली वेबसाइटमा सार्वजनिक गर्नुपर्ने र अझै पनि सच्याउने समयावधिसमेत दिनुपर्ने माग गरेका छन् ।यसबाहेक कांग्रेसको विधान, निर्देशिका र केन्द्रीय समितिको परिपत्रविपरीत थपघट भएको सदस्यताको विषयमा नेताहरूबीच सहमति भइसकेको छैन ।

नेताहरूले अहिले सहमति नभएका विषयलाई थाती राखेर त्यस्ता ठाउँमा १३औँ महाधिवेशनकै क्रियाशील सदस्यहरूबाट महाधिवेशन गर्ने निर्णयसमेत गरेका थिए । तर, अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरूको हकमा धेरै ठाउँमा विवाद देखिएपछि त्यो निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै नेताहरूबीच विवाद छ । वरिष्ठ नेता पौडेल पक्षले उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्य राजनीतिक दलबाट आएकाहरूको समायोजनका विषयमा गरेका निर्णयहरू गलत भएको भन्दै प्रश्न उठाएको छ । तर, निधिले भने केन्द्रीय समितिले नै अनुमोदन गरिसकेका विषयलाई पुनः उठाउनुको अर्थ नभएको भन्दै आपत्ति जनाउँदै आएका छन् । 

सुझावित समाचार