मेलम्चीमा ठूलो बाढी, स्थानीय त्रसित

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

मुहान क्षेत्र भेमाथाङको लेकाली जमिन भासिएर पानीसँगै बगेकोले शनिबार रातभर मेलम्ची खोलामा बाढी आयो । लेदो मिसिएको पानी हेलम्बुको नाकोतेमा केहीबेर थुनिएपछि १ असारभन्दा पनि ठूलो बाढी आएको स्थानीयले बताएका छन् । 

‘हेलम्बु क्षेत्रमा तीन–चार दिनदेखि वर्षा भएको छैन । तर, बाढी आइरहेको छ,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले आश्चर्य मान्दै भने, ‘भेमाथाङको जमिन बगिरहेको छ । रोकिने छाँट छैन ।’

लेदो मिसिएकाे बाढीले खोलामा धार परिवर्तन गरिरहेको छ । किनारको दायाँबायाँ गर्दै बगेकोले १ असारपछि आंशिक क्षति पुगेका घरहरू पनि बगाएको छ । खोलाले पुरेको रेडियो मेलम्चीको भवन बगाएको छ ।

लेदो पानीको बहाब क्षणक्षणमा घट्ने–बढ्ने भइरहेकाले किनारका खेतमा ठूलो क्षति पुगेको छ । गणेश बगर, चनौटे, ग्याल्थुम र मेलम्ची फाँटका खेत कटान भइरहेको छ । बाढीले मेलम्चीदेखि भिमटारसम्मको खेत क्षेत्र प्रभावित भएको छ । 

मेलम्ची र हेलम्बु जोड्ने चनौटेस्थित रातोपुल उच्च जोखिममा परेको छ । १ असारको बाढीले क्षति नगरेको रातोपुललाई शनिबारको बाढीले क्षति गरेको छ । पुलको बीचभागबाट बाढी बगिरहेकोले मानिसको आउजाउ बन्द गरिएको छ । रातोपुल उच्च जाेखिममा परेकाे छ । 

रातभरको बाढीले स्थानीय त्रसित छन् । केही पीडितको घरायसी सामग्री बाढीमा परेको हेलम्बु गाउँपालिकाले जनाएको छ । हेलम्बु र मेलम्चीमा मानवीय क्षति भएको छैन ।

राती ११ बजेदेखि बाढी कम भए पनि लेदोसहितको बाढीले वेलावेलामा खोलाको धार परिवर्तन भइरहेकाले थप त्रास उत्पन्न भएको स्थानीयले बताएका छन् । रातभरको बाढीले पुर्याएको क्षति र सम्भावित जोखिमबारे सचेत गराउन इलाका प्रहरी कार्यालय मेलम्चीले आइतबार बिहानैदेखि उद्धार र सतर्कताको काम गरिरहेको छ ।  

सुझावित समाचार