पछिल्लो समय मुलुकमा मदिरा उद्योगको विकास तीव्र रूपमा बढिरहेको छ, बर्सेनि करिब ५० को संख्यामा नयाँ ब्रान्ड आउँछन्, कुल मदिरा खपतमा ७० प्रतिशत हिस्सा नेपाली उत्पादनले ओगटेका छन्
सरकारले नयाँ मदिरा उद्योगको अनुमति दिएपछि अहिले मुलुकमा धमाधम नयाँ मदिरा तथा बियर उद्योगहरू खुलिरहेका छन् । अत्याधुनिक प्रविधिसहितको एउटै मदिरा उद्योगमा ३ अर्बभन्दा बढी लगानी हुन थालेको छ । मदिरा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाले नयाँ प्रविधि पनि भित्रिरहेको छ ।
हरेक वर्ष ५० वटाभन्दा बढी नयाँ ब्रान्डहरू बजारमा आइरहेको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह बताउँछन् । स्वदेशी ब्रान्डले नै उपभोक्ताको चाहनाबमोजिमको गुणस्तर र स्वाद पस्किन थालिसकेका छन् । ‘तर, बजारमा आउनेमध्ये ८० प्रतिशत ब्रान्ड फेल हुने गर्छन्,’ शाहले बताए ।
मुलुक छिट्टै आत्मनिर्भर बन्न सक्ने क्षेत्रमध्ये मदिरा पनि पर्छ । महासचिव अधिकारी सरकारले केही कानुनी तथा नीतिगत सुधार गरेमा विदेशी मदिरा आयात गर्नुपर्ने परिस्थिति बिस्तारै कम हुँदै जाने बताउँछन् । सरकारले थोरै नीतिगत सुधार ल्याइदिए मात्र पनि मुलुक मदिरा र बियरमा तत्कालै आत्मनिर्भर बन्न सक्छ ।
स्वदेशमै अन्तर्राष्ट्रिय गुणस्तरको मदिरा उत्पादन हुन थालेपछि विदेशी मदिराको आयात घट्दो क्रममा छ भने स्वदेशीको उपभोग बढ्दै गइरहेको छ । कतिपय स्वदेशी ब्रान्डहरूले विदेशबाट आयात हुने चर्चित ब्रान्डलाई विस्थापनसमेत गर्न लागेको बजारले देखाउँछ । पछिल्लो २० वर्षमा मदिरा क्षेत्रमा छिटोछिटो परिवर्तन भइरहेको जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक शाहको बुझाइ छ ।
उनले केही समयअघि नयाँ पत्रिकासँगको अन्तर्वार्तामा भनेका थिए, ‘पहिला आठवटा डिस्टिलरीहरू थिए, तर अहिले डेढ/दुई सय पुगिसके । स–साना उद्योगको कुरा गर्ने हो भने १५ सयवटा लाइसेन्स वितरण भइसकेको छ ।’ नेपाली मदिरा बजारमा अत्यधिक प्रतिस्पर्धा रहेको उनको भनाइ छ । नेपालमा ह्विस्की, बियर, वाइन, रम, भोड्का, जिनलगायत सबै प्रकारको मदिरा उत्पादन हुन थालेको छ ।
नेपालमा उत्पादित मदिरा उत्पादनसँगै गुणस्तरमा पनि धेरै सुधार भइसकेको छ । त्यसैले पनि मदिराका पारखीको रोजाइमा स्वदेशी ब्रान्ड पर्न थालेको व्यवसायी बताउँछन् । त्यसो त पछिल्लो समय पाँचतारे होटेलमा पनि स्वदेशी ब्रान्ड सर्भ हुन थालेको छ । नेपाली उपभोक्ताहरूले मात्र होइन कि विदेशी पाहुनाले पनि नेपाली मदिरा रुचाउने गरेको नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरुप्रसाद अधिकारी बताउँछन् । अर्बौंको लगानीसहित भित्रिएको अत्यधुनिक प्रविधियुक्त प्लान्टबाट स्वदेशमै अन्तर्राष्ट्रिय स्टान्डर्डकै मदिरा उत्पादन हुने उनको भनाइ छ ।
नेपालमा विदेशका प्रख्यात ब्रान्डहरू पनि उत्पादन हुन थालेका छन् । वार्सटाइनर, बडवाइजर, सिग्नेचर, रोयल स्ट्याग, काल्र्सवर्ग, टुबोर्गलगायत दर्जन हाराहारी विदेशी मदिरा नेपालमै उत्पादन हुन्छ । ती मदिरा तथा बियर उद्योगहरूको आफ्नै खालको बजार छ । तिनले पछिल्लो विकसित प्रविधि पनि भित्र्याएका छन् । बहुराष्ट्रिय मदिरा उद्योगले नेपालमा उत्पादन थालेपछि रोजगारी सिर्जनामा पनि ठूलो टेवा पुगेको छ ।
आयात
नेपालमा एसिया, युरोप, अस्ट्रेलियादेखि अमेरिकन मुलकबाट पनि विभिन्न किसिमको मदिरा आयात भइरहेको छ । स्वदेशमै मदिरा उत्पादन भए पनि बर्सेनि अर्बौं रुपैयाँको विदेशी मदिरा पनि नेपालीहरूले पिउने गर्छन् । गत वर्ष मात्र नेपालमा २ अर्ब ५६ करोड रुपैयाँको मदिरा आयात भएको छ ।

नेपाली बजारमा विदेशी मदिराको हिस्सा करिब ३० प्रतिशत रहेको छ र बाँकी ७० प्रतिशत स्वदेशी उत्पादनले थेग्ने नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी बताउँछन् । महँगा मदिराको बजारमा विदेशी मदिराको हिस्सा बढी छ । पछिल्ला वर्षमा मदिराको आयात घट्दै गइरहेको टिइपिसीको तथ्यांकले देखाउँछ । ०७३/७४ मा ३ अर्ब १० अर्बको मदिरा आयात भएकोमा गत वर्ष घटेर साढे दुई अर्ब रुपैयाँमा सीमित भएको छ ।
निर्यात पनि हुन्छ
स्वदेशी मदिराको आन्तरिक खपत त बढेकै छ । सँगसँगै निर्यात पनि हुन थालेको व्यवसायी बताउँछन् । एक समय नेपालीले कोसेलीका रूपमा विदेश लैजाने मदिरा औपचारिक रूपमै निर्यात हुन थालेको हो । आर्थिक वर्ष ०७७/७८ मा नेपालबाट विभिन्न मुलुकमा ७ करोड ७९ लाख रुपैयाँबराबरको ३ लाख ६९ लिटर मदिरा निर्यात भएको छ । अहिले वल्र्ड दरबार, ब्ल्याकचिम्नी, ८८४८, गोर्खा बियर, नेपाल आइस बियर, खुकुरी रमलगायत विभिन्न ब्रान्डका मदिरा विदेश निर्यात भइरहेका छन् ।
गत वर्ष अस्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, जापान, दक्षिण कोरिया, सिंगापुर, अमेरिका र बेलायतमा मदिरा निर्यात भएको थियो । कुनै समय पोखरामा उत्पादित डाँडाघरे वाइन जापान, खाडीलगायत दर्जन मुलकमा निर्यात हुन्थ्यो ।
संघका महासचिव अधिकारीका अनुसार नेपाली मदिरा विदेशमा निर्यातको राम्रो सम्भावना छ । तर, निर्यातका लागि सरकारले पहिला इन्सेन्टिभ दिनुपर्ने उनको तर्क छ । बिग मास्टर ब्रान्डको वाइन उत्पादक कम्पनी रोयल काठमाडौं हिमालय बेभरेजका प्रबन्ध निर्देशक जिसुन चापागाईं पनि नेपाली मदिरा, बियर तथा वाइन निर्यातका लागि राज्यले अनुदान सहयोग गर्नुपर्ने तर्क राख्छन् ।
सबैभन्दा पहिला आत्मनिर्भर हुन सकिने क्षेत्र
मुलुक छिट्टै आत्मनिर्भर बन्न सक्ने क्षेत्रमध्ये मदिरा पनि पर्छ । महासचिव अधिकारी सरकारले केही कानुनी तथा नीतिगत सुधार गरेमा विदेशी मदिरा आयात गर्नुपर्ने परिस्थिति बिस्तारै कम हुँदै जाने बताउँछन् । सरकारले थोरै नीतिगत सुधार ल्याइदिए मात्र पनि मुलुक मदिरा र बियरमा तत्कालै आत्मनिर्भर बन्न सक्छ ।
अझै पनि स्वदेशी मदिरा उद्योगको प्रवद्र्धनका लागि नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ । उनी थप्छन्, ‘सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने र विदेशी मदिरा आयातलाई निरुत्साहित गरिदिएमा एक बोतल मदिरा पनि आयात गर्न जरुरी छैन । कसैले सोखको लागि प्रयोग गर्छ भने त्यो बेग्लै कुरा भयो । अन्यथा, गुणस्तरका हिसाबले विदेशी मदिरा आयात जरुरी नै छैन ।’

नीतिगत समस्या
अझै पनि स्वदेशी मदिरा उद्योगको प्रवद्र्धनका लागि नीतिगत सुधारको आवश्यकता छ । मदिराको कच्चा पदार्थ स्पिरिट आयात नियन्त्रण गरेर स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउनु आवश्यक रहेको संघका महासचिव अधिकारी बताउँछन् । नेपालमा विदेशमा भन्दा राम्रो स्प्रिट उत्पादन गर्न सकिन्छ । त्यस्तै, तयारी मदिरा आयात पनि नियन्त्रण गर्नुपर्ने व्यवसायीको तर्क छ । यस्तै, रिसर्च एन्ड डेभलपमेन्टमा काम गर्ने वातावरण बनाइनुपर्ने उनी बताउँछन् ।
मदिराको ६०, ९०, १२० एमएलको सानो बोतलमा प्याकेजिङ गर्न पाइँदैन । त्यस्तै, ९ लिटरभन्दा कम परिमाणको मदिरा कार्टुनमा प्याकिङ गर्नसमेत पाइँदैन । यसलाई सरकारले सहजीकरण गरिदिनुपर्ने अधिकारीले बताए । बजारमा बिक्री नभएको र म्याद गुज्रिएको मदिरालाई नष्ट गर्ने कुरामा पनि सरकार लचिलो बन्नुपर्ने उनको भनाइ छ । र, मदिराको कर बनाउने विषयमा स्पष्ट नीति बनाउनुपर्ने पनि व्यवसायीको माग छ ।
१८ वर्षभन्दा मुनिकालाई मदिरा बिक्री गर्न नपाइने, बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र मदिरा बिक्री गर्नुपर्ने, अन्तःशुल्कका टिकट टाँसिएका मदिरा मात्र बिक्री गर्नुपर्नेलगायत नियम लगाइएको निर्देशिकाले मुलुकको राजस्व (आर्थिक) र सामाजिक दुवै दायित्व पूरा गर्न खोजेको छ ।
नेपालमा मदिराको मूल्यवृद्धि अत्यधिक धेरै हुने गर्छ । विगत १० वर्षमा मदिराको मूल्य तीन गुनासम्म बढेको शाह बताउँछन् । त्यसैले पनि मान्छेले चाहेको मदिरा किनेर खान नपाउने अवस्था छ । वाइन उत्पादक कम्पनी रोयल काठमाडौं हिमालय बेभरेजका प्रबन्ध निर्देशक चापागाईंका अनुसार चार वर्षअघि साढे ४ सय हाराहारी पर्ने वाइनको मूल्य अहिले बढेर ८ देखि ९ सय रुपैयाँ पुगिसकेको छ जसले गर्दा आयातीत वाइन र स्वदेशी वाइनको मूल्यबीचग्याप कम हुन थालेको छ । अधिकारीका अनुसार मदिरामा अल्कोहलको मात्राका आधारमा कर लगाइनुपर्छ । त्यसो भएमा बढी अल्कोहल भएकाले बढी कर तिर्छ, कम अल्कोहलको मात्रा भएकाले कम तिर्छ ।
मदिरा बिक्रीमा कडाइ
मदिरा ऐन ०३१ र मदिरा नियमावली ०३३ ले मदिरा आयात, उत्पादन तथा बिक्री वितरणलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । त्यस्तै मदिरा बिक्री वितरण नियमन निर्देशिका ०६५ ले पनि नियमन गर्ने प्रयास गरेको छ । कर नतिरेका र अवैध तरिकाले घरैमा बनाइएका मदिरालाई नियन्त्रण गर्दै उत्पादन र बजारलाई नियमन गर्न सरकार पनि सक्रिय रहेको छ । नेपालभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा मदिरा कारोबार गर्नेले मदिरा र सुर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने व्यवस्था गरेबाट यो स्पष्ट हुन्छ । होटेल तथा रेस्टुरेन्टलाई छुट दिए पनि डिपार्टमेन्टल स्टोरले समेत मदिरा बिक्रीका लागि छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने भएको छ ।
१८ वर्षभन्दा मुनिकालाई मदिरा बिक्री गर्न नपाइने, बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र मदिरा बिक्री गर्नुपर्ने, अन्तःशुल्कका टिकट टा“सिएका मदिरा मात्र बिक्री गर्नुपर्नेलगायत नियम लगाइएको निर्देशिकाले मुलुकको राजस्व (आर्थिक) र सामाजिक दुवै दायित्व पूरा गर्न खोजेको छ । निर्देशिकाअनुसार नचलेमा इजाजतपत्र रद्द हुने, मदिरा जफत गरिने तथा जरिवाना गरिने प्रावधान राखिएको छ ।