देउवासँगको छलफलपछि मात्र माओवादीले मन्त्रीको टुंगो लगाउने

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाउने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री देउवासँग सरकारको स्वरूपका बारेमा ठोस छलफल गरेपछि मात्रै माओवादी केन्द्रका तर्फबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाइने जानकारी दिए ।

उनले भने, ‘आज नै प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त हुनुहुने र उहाँले शपथग्रहण गरेर मन्त्रिपरिषद्समेत गठन गरेर अगाडि बढाउने सन्दर्भमा हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरूपबारे ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको प्रक्रियालाई अगाडि बढाउन पहल गर्ने निर्णय पनि गरेको छ । नामको बारेमा अहिले छलफल भएन, पहिला आज कस्तो मन्त्रिमण्डल गठन गर्ने, कतिजना समावेश गर्ने, कुन–कुन पार्टीहरू समावेश आजै हुने भन्नेबारेमा एकपटक छलफल गरेपछि मात्रै त्यसबारेमा निर्णय गर्नु उपयुक्त हुन्छ भन्ने भएकाले हामीले अहिले नै नाम बारेमा प्रवेश गरेका छैनौँ ।’


माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसलाको रूपमा लिँदै स्वागत गरेको छ । फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको र स्वेच्छाचारिता र निरंकुशताको नियन्त्रण तथा अन्त्य गर्न महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष बैठकले निकालेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले प्रतिगमनविरोधी संघर्षका क्रममा आफूहरूले गरेका प्रतिबद्धता पूरा गर्न इमानदारपूर्वक अघि बढ्ने संकल्प गरेको पनि उल्लेख गरे ।  

सुझावित समाचार