हिमाली जिल्ला मनाङ सदरमुकाम चामेको घट्टेखोलामा बाढी आएपछि नयाँबजार क्षेत्रमा फसेका स्थानीयलाई सुरक्षाकर्मीले फड्के बनाएर उद्धार गरेका छन् ।
नयाँबजारका ४० जनालाई बुधबार उद्धार गरी सुरक्षित स्थानमा लगिएको सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका डिएसपी होमनाथ पन्थीले बताए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पीडितको उद्धार गरेका हुन्।
सोमबारदेखिको निरन्तरको वर्षासँगै आएको बाढीले चामे क्षेत्रका ७० घर र तालगाउँका ५० घरपरिवार विस्थापित भएका छन् । यस्तै धारापानीका २० भन्दा बढी घर विस्थापित भएका छन् ।