मेलम्ची क्षेत्रमा विनाश : आखिर पहिरो कहाँ गयो ?

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

१. लाङटाङ हिमालसँगैको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट तीन वटा खोला सुरु हुन्छन्, मेलम्ची, याङ्ग्री र लार्के । काठमाडौंमा मेलम्चीको मात्र पानी आएको छ । याङ्ग्री र लार्केको पानी पनि ल्याउन काम सुरु भएको छ । 

२. मेलम्ची खोला हेलम्बु, नाकोटे, अम्बाथान तिम्बु, तालामाराङ हुँदै मेलम्ची बजार आइपुग्छ । 

३.  त्यस्तै लाङटाङ क्षेत्रबाटै सुरु हुने याङ्ग्री खोला बरुवा हुँदै याङ्ग्री दोभानतर्फ आउँछ । 

४. त्यस्तै लाङटाङबाटै आएको लार्के खोला पनि भोताङ हुँदै याङ्ग्री दोभान आइपुग्छ । 

५. याङ्ग्री खोला र लार्के खोला दोभानमा मिसिएपछि इन्द्रावती नदीको नामले चिनिन्छ ।  

...                           ...  

देशभरजस्तै सिन्धुपाल्चोक क्षेत्रमा पनि शुक्रबारदेखि वर्षा सुरु भएको हो । मंगलबार पनि मेलम्चीबजारमा सिमसिम पानी परिहरेको थियो, तर माथि लाङटाङ क्षेत्रतर्फ भने ठूलै पानी परिरहेको थियो । मेलम्चीबाट इन्द्रावतीतर्फ करिब २२ किलोमिटर माथि रहेको वस्ती याङ्ग्रीमा बाढी आएपछि स्थानीय वासिन्दाको भागाभाग भयो । लार्के खोलाबाट आएको बाढीले याङ्ग्री वस्ती क्षतिग्रस्त बनायो । ज्यान बचाउन सफल त्यहाँका बासिन्दाले मेलम्चीतर्फ फोन गरेर इन्द्रावतीमा बाढी आएको जानकारी गराए । 

मंगलबार साँझ करिब पाँच बजेको थियो । लार्के–याङ्ग्री हुँदै इन्द्रावतीमा बाढी आउँदै छ भन्ने जानकारी पाएपछि मेलम्ची किनारका वासिन्दाहरू माथितर्फ सरे । नभन्दै ६ बजे बाढी आइपुग्यो । ठूलो बाढी देखेर स्थानीयहरू माथिमाथि सर्दैै गए । स्थानीयहरू उकालो लागिरहेका थिए । तर करिब सात बजेतिर मेलम्ची खोलामा पनि बाढी आयो । इन्द्रावतीमा मात्र बाढीको अपेक्षा गरेका सर्वसाधरण मेलम्चीमा पनि बाढी आएपछि झन् त्रसित भए । तर, इन्द्रावतीको डरले माथि सरिसकेकाले मेलम्ची बजारमा मानवीय क्षति हुन पाएन । 

इन्द्रावतीको पानी बजार पसेन । तर मेलम्चीको बाढीले भने बजारमा विध्वंश मच्चायो । बजारका ६० घर डुबे । बजारका मात्रै करिब तीन सय बासिन्दा विस्थापित भएका छन्  । राति भाग्न नपाएका दुई जना मजदुरलाई होटलबाट र एक जना सर्वसाधरणलाई निर्माणाधिन मनमोहन स्मृति भवनबाट सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । 

करिब दुई दशकअघि मेलम्ची पल्लो भित्तातर्फ गएकोले वल्लो भित्ता बगर भएको थियो । त्यहाँ मेलम्ची नगरपालिकाले खेलकुदका लागि ‘कभर्ड हल’ बनाएको थियो । बाढीले पहिले कभर्ड हललाई पुरै बगाएर लग्यो र त्यहीँबाट बजारतर्फ पस्यो । कभर्ड हलको संरचना केहीबेर पक्की पुलको पोलमा अडियो । त्यसैले पानी झन् झन् माथि बढ्यो, बजार माथिसम्म डुब्यो । राति करिब दुई बजे मेलम्चीको पक्कि पुल पनि बग्यो । 

मेलम्ची बजारनजिकै क्रसरले रात दिन गिटी र बालुवा निकाल्दै आएका छन् । जग नै खनिएका पुलले बाढी थाम्न सकेन । बाढीको यो ताण्डव हेरेर मेलम्चीवासी सारा रात जागा थिए । 

बुधबार बिहानदेखि इन्द्रावतीको बाढी केही घटेको छ । तर, मेलम्चीको बाढी जस्ताको त्यस्तै छ । खासमा नदिमा पानीभन्दा धेरै लेदो र ढुंगा छ । २४ घन्टाभन्दा बढी समयदेखि लगातार लेदो र ढुंगा आउने गरी माथि के भत्किएको हो भन्ने अनुमान गर्न सकिएको छैन । मेलम्ची बजारभन्दा माथि अम्बाथानस्थित खानेपानीको ड्याम पुरै भत्किएको छ । खानेपानी आयोजनाको कुनै पनि संरचना अहिले देख्न सकिदैँन ।

माथि के भएको भनेर बुझ्न हेलिकोप्टरबाट हेलम्बु र पाँच पोखरी–थाङ्पाल गाउँ पालिकाका अध्यक्षहरूसहित सेनाको टोली गएको थियो । टोलीले नाकोतेमा पहिरो देखेको थियो । तर त्योभन्दा माथिबाट पनि लेदोसहितको बाढी आइरहेको टोलीले बताएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार मेलम्चीभन्दा ३५ किलोमिटर माथि काचेतसम्म पुग्दा पनि माथिबाट लेदोसहितको बाढी आइरहेको थियो । त्योभन्दा माथि जान नसिकएको टोलीले बताएको छ । त्यस्तै इन्द्रावतीतर्फ भोताङमा पनि पहिरो गएको स्थानीयहरूको भनाइ छ । यसरी लाङटाङ क्षेत्रमै पहिरो अथवा हिमपहिरो गएकोले मेलम्ची र इन्द्रावती दुवैतर्फ बाढी आएको अनुमान उद्धार टोलीले गरेको छ । थप अवलोकन बिहीबार हुँदै छ । 

मेलम्ची किनाराका सबै बस्ति क्षतिग्रस्त भएका छन् । नदि किरानामा भएको एउटा ट्राउट फर्म बगाउँदा कामदार तथा पाहुना गरी  सात जना एकै ठाउँबाट बगेका थिए । समग्रमा २० जनालाई बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर खोजि र उद्धार सफल हुन सकेको छैन । मेलम्ची वारीपारी र जोड्ने पाँच वटा पुल बगेकोले हेलम्बु र  पोखरी–थाङ्पाल गाउँपालिकासँगबो सडकसम्पर्क बिच्छेद भएको छ । त्यहाँ खाद्यान्न, लत्ताकपडा लगायतका राहतका सामग्री पनि पुर्‍याउन सकिएको छैन । त्यसमाथि बाढी लगातार आएकोले सर्वसाधरण त्रसित छन् । अहिले करिब तीन सय मान्छे मेलम्ची बजारमाथि उद्धार शिविरमा छन् । त्यहाँभन्दा माथिका बाढी पीडितको अवस्थाबारे कुनै पनि निकायबाट सम्पर्क स्थापित भएको छैन । 

सुझावित समाचार