निषेधाज्ञाको एक महिना : संक्रमण र मृत्युदर घट्दै, निको हुने बढ्दै

चिकित्सकहरू भन्छन्– नेपालमा कोभिड संक्रमणदर ३४ प्रतिशतभन्दा माथि नै भएकाले जोखिम कायमै छ

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

निषेधाज्ञा लागू गरिएको एक महिनामा कोरोना संक्रमण र मृत्युदर घट्न थालेको संकेत देखिएको छ । यद्यपि, संक्रमणदर ३४ प्रतिशतभन्दा माथि नै भएकाले जोखिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् । काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो । त्यसको एक साताभित्र अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार जेठको सुरुवातदेखि संक्रमणमा सामान्य कमी आएको छ भने निको हुनेको संख्या बढ्न थालेको छ । 

पछिल्लो २४ घन्टामा १२ हजार सात सय ७० नमुनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा चार हजार तीन सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यो संक्रमणदर ३४.२१ प्रतिशत हो । यस अवधिमा ६ हजार दुई सय पाँचजना निको भएका छन् भने एक सय नौजनाले ज्यान गुमाएका छन् ।

पछिल्लो साता दैनिक मृत्युको हुनेको संख्या औसत दुई सयको हाराहारी थियो । एक सातायता नयाँ संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । जसअनुसार एक लाख १५ हजारमा पुगेको सक्रिय संक्रमितको संख्या एक लाख नौ हजारमा झरेको छ । गत ९ जेठमा सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार पाँच सय ४७ थियो भने आइतबार यो संख्या एक लाख आठ हजार आठ सय ९७ मा झरेको छ । आइतबार एक हजार पाँच सय ४५ संक्रमितको आइसियू र चार सय सातजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

जेठ महिनामा सबैभन्दा धेरै २ जेठमा नौ हजार दुई सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता नयाँ संक्रमितको संख्या ओरालो लागेको छ । पछिल्लो साता संक्रमणदर ३५ प्रतिशतको हाराहारी थियो जुन वैशाखको अन्तिम साता ४६ प्रतिशतसम्म पुगेको थियो । यो महिना सबैभन्दा धेरै ४ जेठमा दुई सय ४६ जनाले ज्यान गुमाएका थिए । सबैभन्दा कम १४ जेठमा ९६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । 

पछिल्ला दिनमा सहरी क्षेत्रमा संक्रमण कम भए पनि ग्रामीण क्षेत्रमा भने बढेको छ । ग्रामीण क्षेत्रमा परीक्षण नै कम भएकाले संक्रमण घटेको भन्न नमिल्ने अवस्था रहेको चिकित्सकहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख तथा भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले नेपालमा संक्रमण बढ्ने वा नियन्त्रणतर्फ जाने भारतको अवस्थामा भर पर्ने बताए । पछिल्लो साता भारतमा संक्रमणदर घटेकाले नेपालमा पनि त्यहीअनुसार स्वतः घटेको उनको भनाइ छ । 

अहिले पनि नेपालको संक्रमणदर ३० प्रतिशतभन्दा माथि रहेको र यसलाई उच्च मानिने डा. पाण्डेले बताए । ‘नेपालमा संक्रमण घट्यो नै भनिहाल्ने अवस्था छैन,’ उनले भने, ‘अझै केही दिन हेर्नुपर्छ । अहिले पिकमै छ जस्तो लाग्छ । अब बिस्तारै दोस्रो वेभ कम हुन्छ, थोरैले मात्र भ्याक्सिन लगाएकाले तेस्रो वेभले फेरि ठूलो असर नगर्ला भन्न सकिन्न ।’ 
एन्टिबडी परीक्षणबाट कति जनसंख्यामा संक्रमण भइसक्यो भनेर हेर्नुपर्ने डा. पाण्डेको सुझाब छ । उनका अनुसार सेप्टेम्बरमा एन्टिबडी परीक्षण गर्दा करिब १५ प्रतिशतलाई संक्रमण भइसकेको देखिएको थियो । 

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले एक महिनाको निषेधाज्ञा प्रभावकारी देखिएको बताए । ‘संक्रमणदर र मृत्यु हुने दर घटेको छ । निको हुनेको संख्या बढेको छ,’ उनले भने, ‘निषेधाज्ञा प्रभावकारी नै भएको छ, निषेधाज्ञा जति कडा गरियो, संक्रमण त्यति घट्ने देखियो ।’ निषेधाज्ञा कहिलेसम्म लागू गर्ने भन्नेबारे आगामी केही साताको अवस्था हेरेर निर्णय लिइने उनको भनाइ छ । 

 एक महिनामा अढाई लाख संक्रमित 
निषेधाज्ञा लागू गरिएयता एक महिनाको अवधिमा दुई लाख ३९ हजार पाँच सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । १६ वैशाखमा देशभर संक्रमितको संख्या तीन लाख १७ हजार पाँच सय ३० थियो । आइतबार यो संख्या पाँच लाख ५७ हजार एक सय १४ पुगेको छ ।  एक महिनाको अवधिमा संक्रमणबाट चार हजार २६ जनाले ज्यान गुमाएका छन् । १६ वैशाखसम्म मृत्यु हुनेको संख्या तीन हजार दुई सय ४६ थियो भने आइतबार यो संख्या सात हजार दुई सय ७२ पुगेको छ ।

संक्रमणदर ओरालो, नियन्त्रणमा आउन अझै दुई महिना लाग्छ : डा. जनक कोइराला 

सुझावित समाचार