१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
डा. जनक कोइराला, भाइरोलोजिस्ट
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १७ सोमबार ०८:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संक्रमणदर ओरालो, नियन्त्रणमा आउन अझै दुई महिना लाग्छ : डा. जनक कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १७ सोमबार ०८:३८:००

नेपालमा कोभिडको दोस्रो लहर फैलिएपछि मृत्युदर ६ हजार नाघ्ने अनुमान गरिएका थियो, तर अहिले नै सात हजार नाघिसकेको छ । निषेधाज्ञा लागू भएपछि पनि मृत्युदर उकालो लाग्यो, पोहोर सालको तुलनामा कडा खालको भेरियन्टले गर्दा एक महिनाको अन्तरालमा मृत्यु पनि चार हजार नाघेको छ । अहिले संक्रमणदर केही घटेको जस्तो देखिन्छ, परीक्षणको दायरा पनि घटाइएकाले संक्रमणदर ४० प्रतिशतमा झरेको छ, तर दैनिक चार हजारमा संक्रमण हुनु सामान्य अवस्था होइन । यो साता मृत्युदर पनि अघिल्लो साताको तुलनामा घटेको छ । एक महिनामा धेरै सुधार होला, तर यही अवस्था हो भने डेढदेखि दुई महिना निषेधाज्ञा आवश्यक हुन्छ ।

निषेधाज्ञालाई हालको जस्तो कडा गर्दा अन्य समस्या पनि निम्तिने भएकाले संक्रमणको दर हेरेर बिस्तारै खुकुलो बनाउँदै लानुपर्छ । जस्तै, संक्रमण घटेको क्षेत्रमा संयमताका साथ खोल्दै जाने, मापदण्ड अपनाएर खुकुलो बनाउँदै लाने हो भने अबको एक महिनाभित्रमा संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । सरकारले लागू गर्ने मापदण्ड एकातिर हुन्छ, सबैभन्दा ठूलो विषय आममानिसले ध्यान दिनु जरुरी छ । किनभने नयाँ भेरियन्ट निकै संक्रामक छ, विश्वमा स्वरूप परिवर्तन भएर नयाँ–नयाँ भेरियन्टहरू आइरहेकाले नेपालमा पनि योभन्दा घातक भेरियन्ट आउँदैन भन्न सकिन्न । अलिकति पनि हामीले सावसाधी अपनाएनौँ भने फेरि ह्वात्तै बढ्ने सम्भावना रहन्छ । 

संक्रमणको दर हाम्रो व्यवहारमा भर पर्छ । तत्काल निषेधाज्ञा खुकुलो बनाउँदा, विवाह व्रतबन्धको सिजन पनि नसकिएकाले फेरि बढ्ने सम्भावना हुन्छ । एकैचोटि लकडाउन खोल्दा फेरि अर्को वेभ आउन सक्छ । एक–दुईजना भेला हुँदा केही हुँदैन भन्ने मनसायले फेरि हजारौँमा असर गर्न सक्छ । यसपाली हामीले अलि बढी सचेत हुन आवश्यक छ ।

यही साताको अनुपातमा संक्रमणको दर घट्ने हो भने अबको दुई सातामै संक्रमणको दर हजारमा झर्ला, अहिलेको तुलनामा निकै सहज वातावरण बन्ला, तर खुकुलो हुनेबित्तिकै हामीले पनि अनि सरकारले पनि भिडभाड गरिदिनु भएन । हामीले गल्ती गरेनौँ भने एक महिनाको अवधिमा यो अवस्थाबाट बाहिर आउन सकिन्छ । 

तर, लकडाउन पूर्ण रूपमा भने तत्काल खोल्न सकिँदैन । दोस्रो लहर फैलिएपछि वृद्धवृद्धामा तीन प्रतिशत, २० देखि ४० वर्ष उमेर समुहमा दुई प्रतिशत र ४० देखि ५० वर्ष उमेर समुहमा २.५ प्रतिशत संक्रमण देखिएको छ । अर्थात् युवा समूहमा पनि संक्रमणको दर पोहोर सालको तुलनामा निकै बढी हो । नाका पूर्ण रूपमा व्यवस्थित नहुँदासम्म, भ्याक्सिनको दायरा नबढाउँदासम्म सामान्य अवस्थामा फर्किन सहज छैन । 

सामान्य अवस्थामा फर्किनका लागि भ्याक्सिन लगाउनुपर्छ । जस्तै, अमेरिका बिस्तारै पुरानै लयमा फर्किन थालेको छ । पूर्ण भ्याक्सिन लगाएकाहरूले मास्कविना हिँड्न पाएका छन् । जोखिमबाट बाहिर छन् । नयाँ घातक भेरियन्ट नफैलिएमा भ्याक्सिनले राम्ररी काम गरिरहेको छ ।