पूर्वी पहाडी जिल्ला संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने लालीगुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) यतिवेला राताम्मे भएका छन् । सामान्य अवस्थामा यो सिजनमा टिएमजेमा लालीगुराँस हेर्न आउनेको भिड हुन्थ्यो । तर, यसपटक कोरोना महामारी नियन्त्रणका लागि सरकारले आवतजावतमा रोक लगाएपछि यो पर्यटकीय क्षेत्र सुनसान बनेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–१ अन्तर्गत पर्ने गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिकाभित्र पर्ने चौकी मंगलबारे र धर्मदेवी नगरपालिकाको टुटेदेउराली र पाथीभरा मन्दिर आसपास गुराँसमय भएका छन् । सामान्य अवस्थामा हुन्थ्यो भने चैत पहिलो सातादेखि जेठ पहिलो सातासम्म टिएमजे क्षेत्रमा दैनिक दुई–तीन सय आन्तरिक तथा बाह्य पर्यटकहरू आउँथे । दिनभर घुमफिर गर्ने, रमाइलो गर्ने र केही मानिसहरू यहीँ रातसमेत कटाउँथे । तर, यो बर्ष आवागमन ठप्प रहेको गुफापोखरीकी मित्रकला खनालले बताइन् । चैत महिनासम्म फाट्टफुट्ट मानिस आए पनि अहिले त एकैजना पनि नआएको उनले बताइन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुफापोखरी

टिएमजे क्षेत्रमा राताम्मे फुलेको लालीगुराँस ।
गुफापोखरी क्षेत्र समुद्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाइमा छ । टिएमजे क्षेत्रमा पर्यटकहरू विशेषगरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि जेठ पहिलो सातासम्म लालीगुराँस हेर्न आउने गर्छन् । अन्य वेला पनि जिल्लाभित्रका सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको टिम, विद्यालयहरूबाट शैक्षिक भ्रमण र स्थानीयवासी पिकनिक जाने गर्थे । साथै विराटनगर, धरान, इटहरी र काठमाडौंदेखिसमेत मानिस आउने गरेको खनालले बताइन् । ‘मानिसहरू आउँदा पहिला नै होटेल तथा लजहरू बुकिङ गर्नुपर्थ्यो । होटेल तथा लज भरिभराउ हुन्थे । अहिले सुनसान छ,’ खनालले भनिन्, ‘कोरोनाले हाम्रो त व्यावसाय नै चौपट भयो । हाम्रो मुख्य पेसा नै होटेल व्याससाय भएकाले पर्यटक नआएपछि के खाने भन्ने समस्या हुन थालेको छ ।’
टिएमजे क्षेत्रको मुख्य आकर्षण
टिएमजे क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजाति लालीगुराँस पाइन्छ । यहाँ आइपुग्ने पयर्ट रंगीबिरंगी लालीगुराँस देखेर लट्ठैै पर्ने गरेको स्थानीवासीको भनाइ छ । यस्तै उच्च हिमाली क्षेत्रमा गुफापोखरी, मेन्छायम डाँडा, भीमसेनले बोकेको ढुंगा, रडगार्डेन, कञ्चनजंघालगायतका हिमशृंखला, सानो पाथीभरा मन्दिर पनि पर्यटकको आकर्षण बन्ने गरेको छ । निगालोद्वारा निर्माण गरिएको चित्राले छाएको परम्परागत घर तथा घरका छानो, स्थानीय परिकारहरू, उच्च हिमाली क्षेत्रको रहनसहन र बसोवासले पनि पर्यटकहरूलाई लोभ्याउने गर्थ्यो ।
पछिल्लो समय टिएमजे क्षेत्रमा सडक यातायातसमेत विस्तार भएकाले आवतजावतमा निकै सहज भएको छ । गुफापोखरी र चौकीमंगलबारेसम्म गाडीमा पुग्न सकिन्छ । सदरमुकाम खाँदबारी र तुम्लिङटार एयरपोर्टदेखि चैनपुर–मादी हुँदै गुफापोखरी पुग्न सकिन्छ भने चैनपुर—माम्लिङ—मुडेशनिश्चरेदेखि टुटेदेउराली हुँदै टिएमजे क्षेत्र पुग्न सकिन्छ ।