प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन असफल भएपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतको सरकारका लागि आह्वान गर्नुपर्ने माग गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक अनुरोध गरेका हुन् ।
प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि स्वतः पदमुक्त हुने व्यवस्था भएकाले अब धारा ७६ को (२) अन्तर्गतको प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बताए । ‘विभिन्न कुराहरू आएका छन्, अब फेरि संसद् विघटनको कुरा पनि सुनिएको छ, तर कांग्रेस, माओवादी केन्द्र र जसपाले संविधानको व्यवस्थाअनुसार बहुमतको सरकार गठनका लागि तीनजना अध्यक्षहरूले सार्वजनिक आह्वान गर्नु भएको छ,’ खाणले भने ।