गत साता नेप्सेले करिब ७४ अंक जोड्न सफल भएको छ । सोमबार र बिहीबार बजार घटे पनि साताको कारोबार रकममा भने ४३ प्रतिशतले वृद्धि भएर २९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो साता २० अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको हो ।
गत साता दैनिक औसत कारोबार रकमसमेत ४ अर्ब १२ करोडबाट बढेर ५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । साताभरमा ३ लाख ५१ हजारपटक सेयर किनबेच हुँदा ६ करोड ३१ लाख कित्ता सेयर तथा इकाइ खरिद–बिक्री भएको छ ।
केही दिनअघि २ हजार ३ सय ७० मा टेवा पाएर अगाडि बढेको नेप्सेले तत्काललाई हालसम्मको उच्च बिन्दु २ हजार ६ सय ४० मा लक्ष्य लिएको छ । यो अवधिको न्यून बिन्दु २ हजार ३ सय ७० बाट करिब ७२ प्रतिशतको वृद्धिपछि बजारमा करेक्सन देखिएको हो । बजार पुनः उच्च बिन्दुनजिक आएपछि लगानीकर्ता प्रोफिट बुकिङमा लागेका कारण बजारमा करेक्सन देखिएको हो ।
नेप्सेको मैनबत्ती चित्र
बजारमा करेक्सन देखिए पनि सेयर कारोबार सन्तुलित क्षेत्रमा वृद्धि भइरहेको नेप्सेको १४ दिने आरएसआई सूचकले देखाउँछ । हाल यो सूचक केही वृद्धिसहित स्केल ६४ दशमलव ४९ मा आएको छ ।
नेप्सेको ७ दिने मुभिङ एभरेज रेखाले फेरि २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयासमा देखिएको छ । यसले बजार बुलिस प्रवृत्तिमा प्रवेश गर्न लागेको संकेत गर्छ । यदि ७ दिने रेखालाई २१ दिने रेखाले काटेर माथि लागेमा भने बजार बियरिस हुने मानिन्छ ।
नेप्सेको मैनबत्ती चित्रमा भने इंगल्फिङ बियरिस आकृति बनेको छ । यो आकृतिमा पहिलो दिन सेतो (हरियो) शरीरसहितको मैनबत्तीलाई दोस्रो दिन बनेको कालो (रातो) मैनबत्तीको शरीरले ढाकेको छ । यसरी ढाक्नुलाई अंग्रेजीमा इंगल्फ गर्नु भनिन्छ ।
सेतो मैनबत्तीलाई कालो मैनबत्तीले ढाकेकाले यो इंगल्फिङ बियरिस भएको हो । यसले आइतबारको बजार घट्न सक्ने संकेत गरे पनि यो मध्यम संकेत हो । आइतबार बजार घटेर तीन दिनकै न्यून बिन्दुमा पुगेर बजार बन्द भएमा थ्री आउटसाइड डाउन बियरिस आकृति बन्नेछ र यसले भने बजार केही समय घट्दो प्रवृत्तिमा रहने सुनिश्चितता दिनेछ । सोही कारण आइतबारको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।
स्टक डिलरले लगानी गर्ने योग्य कम्पनी छानिए
स्टक डिलरले लगानी गर्न सक्ने योग्य हुने कम्पनीहरूको सूची नेप्सेले सार्वजनिक गरेको छ । स्टक डिलरले कुल ३९ कम्पनीको सेयर कारोबार गर्न पाउने भएको हो । यसअनुसार बजारमा सूचीकृत सबै वाणिज्य बैंकहरूको सेयर स्टक डिलरले किनबेच गर्न पाउने भएको छ । विकास बैंकहरूमा भने एक्सेल, गरिमा, ज्योति विकास, कामना सेवा, मितेरी, मुक्तिनाथ र साइन रेसुंगाको सेयर किनबेच गर्न पाउने भएको हो ।
लघुवित्तमा छिमेक, आरएमडिसी, आरएसडिसी र साना किसान लघुवित्त, होटेलमा तारा गाउँ रिजेन्सी (हायात होटेल) र अन्य समूहबाट नेपाल टेलिकमको सेयर किनबेच गर्न सक्ने भएको हो ।
तीन वर्षदेखि नाफामा भएको, कम्तीमा १० हजार लगानीकर्ता भएको र २० करोडभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको सेयर मात्रै स्टक डिलरले किनबेच गर्न पाउने व्यवस्था छ । यसरी कारोबार गरिने कम्पनीको कम्तीमा वर्ष दिनमा ८० प्रतिशत कारोबार भइरहेको हुनुपर्नेछ ।
हाल स्टक डिलरका रूपमा भने नेपाल टेलिकम, नागरिक लगानी कोष र पुनर्बिमा कम्पनीको लगानीमा नागरिक स्टक डिलर सञ्चालनमा आएको छ । आफ्नै मातृ कम्पनीको सेयर किन्न नपाइने भएकाले नागरिक स्टक डिलरले नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा परे पनि नेपाल टेलिकमको सेयर किनबेच गर्न पाउने सम्भावना कम छ ।
३ अर्ब ५० करोड चुक्ता पुँजी रहेको नागरिक स्टक डिलर कम्पनीमा नागरिक लगानी कोष, पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको क्रमशः ५१ प्रतिशत, १० प्रतिशत र ९ प्रतिशत लगानी छ ।