विशेष अदालतले रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कर्जा प्रवाहसम्बन्धी मुद्दाका आरोपीलाई सोमबार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । करोडौँको बिगोसहित मुद्दा दायर भए पनि आरोपीहरू न्यूनतम धरौटीमा छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीसहित न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर पेस गरेका ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
‘मधुवनलाल श्रेष्ठलाई सबैभन्दा बढी ६ लाख ५० हजार रुपैयाँ र वसन्त मल्ललाई तीन लाख ६५ हजार रुपैयाँ धरौटी मागिएको छ,’ विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले भने । उनीहरू तत्कालीन फाइनान्सका सञ्चालक थिए । ११ वटा मुद्दामा गरी उनीहरूलाई ४० करोड ३३ लाख बिगो कायम गरिएको थियो ।
त्यस्तै, पक्राउ परेका अन्य आरोपीहरू मनोजकुमार भेटवाल, विकास श्रेष्ठ र भैरवप्रसाद भेटवाललाई एक लाख ९० हजारका दरले धरौटी माग भएको छ । उनीहरूमध्ये श्रेष्ठ तत्कालीन कर्मचारी हुन् भने अन्य दुई ऋणी हुन् । अर्का ऋणी रविन लामालाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न विशेषले आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी ६ जनालाई नै पक्राउ गरेर २५ फागुनमा अभियोगपत्र दायर गरेको थियो । विभिन्न ११ वटा मुद्दामा गरी जम्मा ४० करोड ३३ लाख ८८ हजार बिगो कायम गरिएको थियो । हाल नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा गाभिएको रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा कर्जा प्रवाहका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो ।
नागरिक लगानी कोषको समेत सेयर रहेको उक्त बैंकले कर्जा प्रवाह गर्दा नक्कली ऋणी खडा गरेको, धितोको उचित मूल्यांकन नगरेको तथा कर्जा प्रवाहका क्रममा न्यूनतम मापदण्डसमेत नहेरिएकाले ऋणमा डुबेको अनुसन्धानका क्रममा देखिएको थियो । राष्ट्र बैंकको अनुसन्धानका क्रममा ७० प्रतिशत हाराहारी खराब कर्जामा रहेको देखिएको थियो ।