प्रदेश १ सभाको जारी हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । २ चैतका लागि आह्वान गरिएको हिउँदे अधिवेशनको चौथो बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
आइतबार प्रदेश १ सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गरी विशेष कारणले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।
प्रदेश १ सभामा १२ पुसमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सभामुखले पटक–पटक बैठक स्थगित गराउँदै आएका छन् । ७ र २५ माघको बैठक तीन–तीन मिनेट बसे पनि अविश्वासको प्रस्ताव टेबल भएको थिएन ।
तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूह र प्रतिपक्षी दलहरूको चर्को दबाबपछि ९ फागुनमा बल्ल प्रस्ताव संसदमा टेबल भएको थियो ।
२० फागुनमा बस्नुपर्ने संसद् बैठक प्रदेश सभा सचिवालयले १९ फागुनमा विशेष कारणको सूचना टाँस गरेर २ चैतसम्मका लागि स्थगित गराएको थियो ।
सर्वोच्च अदालतले सत्ताधारी दल नेकपालाई विघटन गरेपछि प्रदेश १ मा एमालेबाट विजयी मुख्यमन्त्री शेरधन राई बहुमतले झन् बलियो भएका छन् । तर, उनीविरुद्ध १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव भने अन्योलमा छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हस्ताक्षर गर्ने सांसदमध्ये १६ जना प्रचण्ड र २१ जना नेपाल समूहका थिए । तीमध्ये नेपाल समूहका ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए ।
तर, २३ फागुनमा सर्वोच्चले नेकपा विघटन गरिदिएपछि एमाले र माओवादी पार्टी पहिलेकै स्थानमा आएका छन् । यसैले मुख्यमन्त्री राई एमालेतर्फका ५१ सांसदसहित स्पष्ट बहुमतमा देखिएका छन् । यद्यपि अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गरेपछि नेपाल समूहले समानान्तर अभ्यास थालेको छ ।