सरकार छाड्न गृहमन्त्रीसहित मन्त्रीहरूलाई माओवादीको निर्देशन

शनिबार, २९ फागुन, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो । 

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै दुई पार्टी अलग–अलग भएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र दावा लामा सरकारमा सहभागी भएका छन् । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै त्यसमा असहमति जनाउँदै माओवादी केन्द्रका केही मन्त्रीले त्यतिवेलै सरकार छाडेका थिए । 

बैठकले एमालेको कमिटीमा राखिएका संघीय सांसद तथा प्रदेश सभा सदस्यलाई २४ घन्टाभित्र आफ्नो स्थिति प्रस्ट पार्न पत्र लेख्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।  बैठकले आगामी चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णयसमेत गरेको छ । बदलिँदो  राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबार माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ । रासस

सुझावित समाचार