पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारका दुईजना मन्त्री आफ्नो पार्टी आउने विषयमा छलफल चलिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदमको पक्षमा कोही पनि नरहेको बताएका हुन् ।
उनले लाखौँ जनताको यो आक्रोशलाई नबुझे केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न आजको भन्दा ठूलो संख्यामा काठमाडौं आउने बताएका छन् । आजको कार्यक्रममा रहेको उपस्थितिले ओलीको कदम संविधानको मर्म र भावनाविपरीत रहेको पुष्टि भएको बताए ।
उनले यो जनभावनालाई ख्याल नगरिए देश ठूलो संकटमा जाने चेतावनी दिए । यो उपस्थितिलाई ख्याल गर्दै जनभावनाअनुसार फैसला गर्न अदालतलाई सहज भएको बताए । उनले यसो नभए देशमा निकै ठूलो आँधी आउने र शान्तिपूर्ण ग्रिन रिभोलुसोन हुने चेतावनी दिए ।
प्रचण्डले संवैधानिक निकायहरूले स्वतन्त्र ढंगले आफ्नो अधिकार प्रयोग गरेर जनताको भावनालाई बुझ्नुपर्ने बताएका छन् । उनले केपी ओलीको चुनावी नौटंकी पूरा नहुने भएकाले त्यसका पछि नलाग्न सबैलाई आग्रह गरे ।
उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई पनि कुनै ढिलाइ नगरीकन प्रतिगमनको विरुद्धमा सडकमा आउन अनुरोध गरे । उनले शान्ति सम्झौता गर्दा गिरिजाप्रसाद कोइराला र संविधान निर्माणमा भूमिका खेल्ने सुशील कोइराला भएकाले पनि त्यसको रक्षा गर्ने यो अवसर भएको बताए ।
उनले नेपालमा लोकतन्त्रको हत्या भइरहेका वेला संसारभरका लोकतान्त्रिक पक्षधरहरूको सहयोग हुने अपेक्षा व्यक्त गरे ।