अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाउने उनको तयारी छ ।
आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राईको मातहतमा बसेर आफूले काम गर्न नसक्ने कारण देखाउँदै उनले राजीनामा दिन लागेका हुन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रूपमा काम गरेका थिए । जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजीनामा दिन लागेका हुन् ।
अख्तियार स्रोतका अनुसार मंगलबार नै उनले नयाँ नियुक्ति भएमा बुधबारदेखि नआउने आयोगका उच्च अधिकारीलाई जानकारी गराएका थिए । जोशी र आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङ बुधबार कार्यालय गएका छैनन् । आयुक्त गुरुङले भने राजीनामा दिने–नदिने तय भइसकेको छैन ।
अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तहरू जयबहादुर चन्द र किशोरकुमार सिलवालको बुधबार दिउँसो साढे १२ बजे आयोगमा पदभार ग्रहण गर्ने तयारी छ । बुधबार बिहान उनीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिइसकेका छन् ।