नेप्से परिसूचक मंगलबार एकै दिन ६५ अंकले बढेर २ हजार ४ सय ४३ बिन्दुमा पुगेको छ । सानोतिनो करेक्सनमा देखिने र पुनः प्रवृत्ति देखाइरहेको बजारमा केही दिनयता यही प्रवृत्ति मौलाएको छ । कारोबार सुरु भएदेखि नै बढ्दो प्रवृत्तिमा देखिएको बजार एकोहोरो वृद्धि भएको हो ।
कारोबार रकम ८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कारोबारमा आएकामध्ये होटेल समूहगत परिसूचकमा मात्रै गिरावट आएको हो । होटेल समूहका तीनवटै कम्पनीको मूल्य घटेको छ । उच्चदरमा मूल्य घट्ने ५ भित्र यी कम्पनी पनि परेका छन् । यी कम्पनीको मूल्य ३ देखि ४ प्रतिशतसम्म घटेको हो । २ सय १६ देखि ५ सय ८ रुपैयाँ दरमा यिनको कारोबार भइरहेको छ ।
कारोबारमा आएका २ सय धितोपत्र र ऋणपत्रमा १ सय ५० वटाको मूल्य बढेको र ३४ वटाको मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य ९ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त, सपोर्ट माइक्रो, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्सलगायतको मूल्य बढेको हो ।
मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्ने १० कम्पनीमा बिमा कम्पनीहरू रहेका छन् । निर्जीवन, जीवन र ‘अन्य’ समूहगत परिसूचकमा सबैभन्दा धेरैले वृद्धि भएको छ । यी समूहमा ३ दशमलव ३५ देखि ५ प्रतिशतसम्म वृद्धि भएको हो ।
१९ माघमा ४९ दशमलव ४ प्रतिशत बोनस सेयर र २ दशमलव ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको जनउत्थान सामुदायिक लघुवित्तको मूल्य करिब १० प्रतिशत बढेको हो । कम्पनीको ३ हजार ९६ रुपैयाँमा सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा भने नेपाल पुनर्बिमा, ग्लोबल आइएमई, नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा छन् । कम्पनीहरूको ३८ करोडदेखि ५८ करोड रुपैयाँको कारोबार छ । कारोबार रकम र मूल्य दुवै उच्च भएको ग्लोबल आइएमई मूल्य मध्यम भएको बैंक हो । चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो यस बैंकलाई मर्जरका कारण राष्ट्र बैंकले तोकेको स्प्रेड दर कायम नगरे पनि छुट छ । यसको नाफामा वृद्धि हँुदै जाने अपेक्षामा लगानी बढिरहेको हो ।