विश्वकप छनोट खेल्नुअघि क्वारेन्टिनमा बस्नुपर्ने

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

दक्षिण अमेरिका फुटबल महासंघले २०२० को कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोट फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडी अनिवार्य रूपमा १० दिन होटेल वा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । यो नियम लागू भएपछि युरोपियन फुटबलमा व्यावसायिक खेल खेलिरहेका दक्षिण अमेरिकी खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्नुअघि क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । 

महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै मार्च महिनामा हुने विश्वकप छनोटको मितिअघि नै स्वेदश फर्किन खेलाडीहरूलाई आग्रह गरेको छ । यसैबीच विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले प्रत्येक क्लबलाई खेलाडी रिलिज गर्न भनेको छ । यसमा खेलाडी, सम्बन्धित फुटबल संघ तथा क्लबबीचको आपसी समझदारीमा केही प्रोटोकलमा लचिलो हुन सक्ने अवस्था छ । 

गत वर्षको अक्टोबरमा विश्वकप छनोटताका नै केही युरोपियन क्लबले खेलाडी राष्ट्रिय टोलीमा सहभागी हुन अनुमति दिएका थिएनन् । मार्च महिनामा दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीचको महत्वपूर्ण खेल छ । युरोपियन फुटबलमा धेरैजसो दक्षिण अमेरिकी खेलाडीको वचस्र्व छ । यदि विश्वकप छनोटमा भाग लिए उनीहरू कम्तीमा १ अप्रिलअघि युरोप फर्कन सक्दैनन् । यसको अर्थ इंग्लिस प्रिमियरसिपमा केही समय दक्षिण अफ्रिकी खेलाडीविना नै क्लबहरूले प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । 

‘यहाँ कुनै किसिमको दबाब छैन, हामीले क्वारेन्टाइनमा बस्नुपर्ने खेलाडीको रातो सूची निकालेका छौँ, त्यहीअनुसार खेलाडी आ–आफ्नो मुलुकमा फर्कंदा होटेल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इंग्लिस प्रिमियर लिगमा रोवर्टो फिर्मिनो, अलिसन बेकर, फाविन्हो, थियागो सिल्भा, सर्जिगो अगुएरो, ग्राबिएल जिजस, एलेक्स टेलेर्स तथा इडिसन काभानीले कम्तीमा दश दिनको क्वारेन्टाइनमा बस्ने महासंघले उल्लेख गरेको छ । 

यता म्यानचेस्टर युनाइटेडका पोर्चुगाली खेलाडी ब्रुनो फर्नान्डेजले पनि २०२० को विश्वकप छनोट खेल्न घर जाने अनुमति पाएका छन् । युरोपियन फुटबल महासंघले अहिलेसम्म छनोटअघिको प्रोटोकल जारी गरेको छैन । इपिएल च्याम्पियन लिभरपुल र आर्सनलले आफ्ना दक्षिण अमेरिकी खेलाडीलाई ३ अप्रिलसम्म मात्र प्राप्त गर्नेछन् । दक्षिण अमेरिकामा विश्वकप छनोट सञ्चालन भइरहँदा इपिएलमा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल तथा टोटनह्यामले महत्वपूर्ण खेल खेल्नेछन् । युनाइेटडले फर्नान्डेज, काभानी, टोटनह्यामले डेभिसन तथा गिआभानी सेल्सो गुमाउने पक्का छ ।

यसैगरी युरोपियन च्याम्पियन्स लिग तथा युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा धेरैजसो दक्षिणअमेरिकी खेलाडीविना नै प्रतिस्पर्धा हुने सम्भावना छ । युरोपबाट एकैपटक विश्वकप छनोट खेल्दा खेलाडी घाइते हुने सम्भावना धेरै हुन्छ । यसकारण पनि खेलाडीलाई आराम दिन, मानसिक तनावमुक्त पार्न र फिट गराउन नै दश दिनको क्वारेन्टाइन व्यवस्था मिलाएको दक्षिण अमेरिकी फुटबल महासंघको भनाइ छ । फिफाको निर्देशनअनुसार खेलाडीले अनिवार्य रूपमा प्रोटोकल अपनाउनुपर्नेछ ।

इपिएलमा १६ क्लबमा दक्षिण अमेरिकी खेलाडी छन् । लेस्टर, फुलहाम, वेस्टब्रुम तथा चेल्सीमा एकजना खेलाडी छन् । उल्भ्समा दुईजना मात्र दक्षिण अमेरिकी खेलाडी छन् । यस क्लबमा आठजना पोर्चुगलका खेलाडी आबद्ध छन् ।

सुझावित समाचार