नेपाल पत्रकार महासंघले पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई धम्क्याएको घटनाप्रति विरोध जनाएको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरेर पूर्वमन्त्री बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,’ महासचिव विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने यो घटनाको महासंघ कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवं यस्ता कार्य नदोहोऱ्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’
१३ माघमा बुटवलमा आयोजित युवाहरूको भेलालाई सम्बाेधन गर्ने क्रममा पूर्वमन्त्री बस्नेतले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए ।