सर्वाधिक उच्च बिन्दुमा आइपुग्दा सेयर बजारले स्पष्ट दिशा समात्न सकेको छैन । बैंकिङ प्रणालीमा अधिक तरलताको लाभ पाइरहेको सेयर बजारमा लाभांशको मौसम सकिँदै गर्दा र नयाँ उचाइ बनाइरहँदा लगानीकर्ताहरू निर्णय लिन सकिरहेका छैनन् ।
यद्यपि, बजारमा कारोबार रकम भने उच्च नै छ । यस दिन पनि बजारमा ८ अर्ब रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यो केही कम हो । यस दिन नेप्से परिसूचक भने करिब १९ अंकले बढेर २ हजार ४ सय ४१ बिन्दुमा आइपुगेको हो ।
कारोबारमा आएका २ सय ८ धितोपत्र र ऋणपत्रमध्ये १ सय १० वटाको मूल्य बढेको छ । तर, मुल्य वृद्धि भएकामध्ये ७३ वटाको मूल्य ३ प्रतिशतभन्दा पनि कमले वृद्धि भएको छ । मूल्य घट्ने कम्पनीको संख्या पनि ७३ नै रहेको छ । नेप्से बढे पनि ‘क’ वर्गका कम्पनीहरूको समूहगत परिसूचक भने बढ्न सकेन ।
यस दिन व्यापारमूलक, निर्जीवन बिमा, जीवन बिमा, लघुवित्त र सामूहिक लगानी कोष समूहगत परिसूचक मात्र वृद्धि भएको छ । यस दिन लाभांश समायोजनपछि पनि नेपाल लाइफको सेयरमूल्य सबैभन्दा धेरै अर्थात् १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, समिट लघुवित्त, प्रभु लाइफ, नेसनल हाइड्रोपावरको सेयरमूल्य भने ९ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ ।
दोस्रो त्रैमासमा कम्पनीहरूको अवस्था
चालू आवको दोस्रो त्रैमासमा करिब ४० प्रतिशतले नाफा बढेर १ अर्ब ५१ करोड पुगेको प्रभु बैंकको सेयरमूल्य भने ७ रुपैयाँले घटेर ४ सय ४३ मा खरिद–बिक्री भएको छ । ९९ करोड वितरणयोग्य पुँजी भएको बैंकले ११ अर्ब ३४ करोड चुक्ता पुँजीका आधारमा अहिले नै करिब ८ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ ।
नाफा १ प्रतिशतभन्दा कमले बढेको सन्राइज बैंकको सेयर मूल्य भने ८ रुपैयाँले घटेर २ सय ९६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो त्रैमाससम्मको चुक्ता पुँजीका आधारमा बैंकले ३ प्रतिशतभन्दा कम लाभांश (२१ करोड रुपैयाँ) दिन सक्ने अवस्था छ ।
करिब ७ दशमलव ३८ प्रतिशतले नाफा घटेको सानिमा बैंकको सेयरमूल्य ९ रुपैयाँले घटेर ३ सय ५२ रुपैयाँमा कारोबार भएको छ । ८९ करोड रुपैयाँ लाभांशका रूपमा वितरण गर्न सक्ने बैंकले अहिले नै करिब ९ दशमलव १९ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ ।
१ प्रतिशतभन्दा कमले नाफा घटेको नेपाल बैंकको सेयरमूल्य ३ प्रतिशतले घटेर ३ सय ९४ रुपैयाँमा कारोबार भएको छ । ६७ करोड रुपैयाँ वितरणयोग्य पुँजी भएको बैंकले हालको चुक्ता पुँजीका आधारमा ५ प्रतिशत लाभांश दिन सक्छ । बैंकको खराब कर्जा सीमान्तदरमा बढेको छ ।