विराटनगर । विराटनगरमा अब अशुद्ध खानेपानीको त्रास अन्त्य हुने भएको छ। अशुद्ध खानेपानीकै कारण १२ वर्षअघि जन्डिसको महामारी फैलिएको विराटनगरमा नयाँ परियोजना निर्माण सम्पन्न भएसँगै अशुद्ध खानेपानीको त्रास अन्त्य हुने भएको हो। शुद्ध खानेपानी वितरणका लागि विराटनगरमा करिब दुई अर्ब ५४ करोड रुपैयाँबराबरको परियोजना अन्तिम चरणमा पुगेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा विराटनगरमा खानेपानी परियोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।
नेपाल खानेपानी संस्थान विराटनगरका अनुसार परियोजनाअन्तर्गतको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको छ। परियोजना अब एक महिनाभित्र हस्तान्तरण हुनेछ। नयाँ परियोजना हस्तान्तरण भएर पानी वितरण सुरु भएपछि ०३७ सालमा निर्माण भएको विराटनगर खानेपानी आयोजनाको पुरानो संरचनामा आमूल परिवर्तन आउनेछ। विराटनगर नगरपालिका रहेको वेला निर्माण भएको चार दशकभन्दा पुरानो खानेपानी प्रणालीले मात्र उपमहानगरपालिकासम्म आइपुग्दा उपभोक्ताको माग धान्न सकेको थिएन भने पाइपलाइनसमेत ध्वस्त बन्दै गएका थिए।
खानेपानीको बढदो माग आपूर्ति गराउनकै लागि विराटनगरमा उपभोक्ताको सक्रियतामा उत्तर पुष्पलाल चाेकमा मानगढ, पश्चिम जामुनगाछी र दक्षिण बखरीमा सामुदायिक खानेपानी आयोजना पनि सञ्चालनमा ल्याइएको थियो। तैपनि विराटनगरको देवकोटा चाेक, हाटखोला, सरौचिया, पोखरिया, तीनटोलिया, ट्राफिक चाेक, रोडशेष चाेक, जनपथ टोल, हाटखोलालगायतका मुख्य क्षेत्रमा बढ्दो जनसंख्याको माग धान्न सक्ने अवस्था थिएन।
खानेपानीकै कारण विराटनगरमा ०७०/७१ मा जन्डिसको संक्रमण फैलिएपछि तत्काल संघीय सरकारले जाइकाको अनुदान सहयोगमा दुई अर्ब ५४ करोड रुपैयाँ लागतमा देवकोटा चाेकस्थित विराटनगर खानेपानी आयोजनासँग परियोजना सम्झौता गरेको थियो। विराटनगरमा नयाँ शुद्ध खानेपानी परियोजनाका लागि २६ फागुन ०७८ मा नेपाल सरकार र जापानबिच अनुदान सम्झौता भएको थियो। १४ असार ०८१ मा शिलान्यास भएको परियोजना १४ कात्तिक ०८३ मा सम्पन्न गरिसक्नुपर्ने छ।
परियोजना सम्झौताअनुसार विराटनगरको पुरानो खानेपानी प्रणाली परिवर्तन गर्न तीनवटा पुराना पम्पिङ स्टेसनको सुधार गर्ने, विराटनगर– ५ मा नयाँ पम्पिङ स्टेसन निर्माण गर्ने, पानी प्रशोधन तथा रिजर्भ ट्यांकी र ओभरहेड ट्यांकी निर्माण गरी वितरणका लागि नयाँ पाइपलाइन विस्तार गर्नुपर्ने थियो। खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको सम्झौताअनुसारका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन्। अब विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन्। ती कामसमेत छिट्टै सम्पन्न गरेर परियोजना हस्तान्तरण गराएर एक महिनाभित्रै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी विराटनगर खानेपानी आयोजनाको छ।
खानेपानी संस्थान विराटनगरका अनुसार परियोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता बढ्नेछ। हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिनेछ।
नयाँ परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ। पुराना संरचनाको सुधारसँगै नयाँ ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ। विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर– ५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ। कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्यांकीसमेत निर्माण गरिएको छ।
पाइपलाइन तथा फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने संस्थानको अपेक्षा छ। नयाँ प्रणाली सञ्चालनमा आएपछि उपभोक्ताले नियमित र गुणस्तरीय खानेपानी पाउने संस्थानको दाबी छ। हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार दुई सय ग्राहक छन्। परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन सहज हुने आयोजना प्रमुख रौनियार बताउँछन्।
महानगरपालिकाको आर्थिक वर्ष ०८२/८३ को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएअनुसार विराटनगरमा ५६ हजार ९१९ घरधुरी छन्। जसको २९.७ प्रतिशतले मात्र शुद्ध खानेपानी पाएका छन्। ६० प्रतिशतले अझै चापाकलको पानी पिउँछन्। जार र बोतलको पानी पिउने विराटनगरवासी करिब ६ प्रतिशत मात्र छन्।
अशुद्ध खानेपानीकै कारण तीन महिनासम्म फैलिएको थियो जन्डिसको महामारी
विराटनगरमा करिब ५० वर्ष पुरानो खानेपानी प्रणालीले गर्दा नियमित पानी आपूर्तिमा समस्या हुने, आपूर्ति भएको पानी पनि दूषित भएकाले संक्रमण फैलने जोखिम थियो। खानेपानीको पाइपमा ढल मिसिँदा०७०/७१ मा आपूर्ति भएको दूषित खानेपानीकै कारण विराटनगरमा ०७१ वैशाखदेखि साउनसम्म जन्डिसको संक्रमण फैलिएको थियो।
तत्काल विभिन्न ठाउँबाट लिइएका पानीका नमुनामा उच्च मात्रामा कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको अभिलेखअनुसार त्यसवेला दुई हजार ७८९ जना जन्डिसका बिरामी दर्ता भएका थिए। उक्त प्रकोपमा १४ जनाको मृत्यु भएको थियो। सडक निर्माण तथा मर्मतका क्रममा खानेपानी र ढलका पाइप क्षतिग्रस्त भएकाले वितरण भएको खानेपानीमा ढल मिसिएको थियो।