नेपाल लाइफकै एक अर्ब ४५ करोडको कारोबार

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

हालसम्मको नयाँ उच्च बिन्दु २ हजार ४ सय ४० दशमलव ८८ बिन्दु छोएसँगै नेप्से करेक्सन भएको छ । नेप्से सर्वाधिक उचाइमा पुगेसँगै लगानीकर्ता प्रोफिट बुकिङमा लागेका छन् । मंगलबार नेप्से परिसूचक १७ दशमलव ७९ अंकले घटेर २ हजार ४ सय २३ मा आइपुगेको छ । कारोबार रकमसमेत ७ प्रतिशतले घटे पनि उच्च नै छ । यस दिन ८ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको हो । 

कुल कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै करिब १८ प्रतिशतबराबरको कारोबार हिस्सा छ । कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबारसम्म लगानी गर्नेले कम्पनीले प्रस्ताव गरेको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएकाले पनि सेयर कारोबार बढेको हो । 

कारोबारमा आएका सबै समूहगत परिसूचकमध्ये होटेल र वित्त कम्पनीका परिसूचक मात्रै वृद्धि भएको छ । २ सय ७ धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ५६ वटाको मूल्य बढेको र १ सय ३६ कम्पनीको मूल्य घटेको हो । कारोबारमा आएका गुराँस लघुवित्त, प्रभु लाइफ, युनाइटेड फाइनान्सको करिब १० प्रतिशतले वृद्धि भएको हो । 

हालै पाँचौँ साधारणसभा सम्पन्न भएको गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिएको भए पनि मूल्य भने वृद्धि भएको हो । गत आव अन्त्यमा ३५ लाख नाफा गरेको कम्पनीले चालू आवको पहिलो त्रैमासमा २२ लाख नाफा गरेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा बढ्न सक्ने अनुमानमा मूल्य बढेको हुन सक्ने देखिन्छ । कम्पनीको खराब कर्जा पनि ३ दशमलव ९४ प्रतिशतबाट घटेर ३ दशमलव ३२ प्रतिशतमा सीमित भएको छ । दोस्रो त्रैमासिक प्रतिवेदन भने आउँन बाँकी छ  ।

 २९ पुसमा युनाइटेड फाइनान्सको साधारणसभामा वसन्तकुमार चौधरी अध्यक्षमा निर्वाचित भएका थिए ।  गत आवमा अघिल्लो आवको तुलनामा नाफा घटेको कम्पनीले पहिलो त्रैमासमा सुधार गरेकाले पनि लगानीकर्ता आशावादी बनेको हुन सक्ने देखिन्छ । गत आवको पहिलो त्रैमासमा ३७ लाख कमाएको कम्पनीले चालू आवको पहिलो त्रैमासमा भने १ करोड १४ लाख कमाएको छ ।  करिब एक महिनाबाट कारोबारमा आएको प्रभु लाइफको मूल्य बढ्दै गइरहेको हो । हाल कम्पनीको ५ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

सुझावित समाचार