प्रधानमन्त्रीले बालुवाटार दरबारलाई घेरेर बस्न सक्नुहुन्छ, तर नागरिकको मार्च रोक्न पाउनुहुन्न

मंगलबार, १२ माघ, २०७७
डिजिटल संस्करण

मोहना अन्सारी

प्रतिगमनविरुद्ध बालुवाटार मार्चको क्रममा नागरिकमाथि लाठीचार्ज भयो, पानीको फोहोरा हानियो, तपाईंमाथि पनि लाठी प्रहार भयो । पानीको फोहोरा तपाईंलाई पनि लाग्यो । तपाईंको स्थिति के छ ? त्यहाँ अरूको स्थिति कस्तो थियो ?

त्यतिवेला त घर पुग्न सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो । पानीको फोहोराले लागेको र लाठी पनि प्रहार भएकाले एकदमै गाह्रो भएको थियो । अहिले त ठिकै छ । त्यहाँ एकजना वृृद्ध लड्नुभएको थियो । लडेको वृद्ध मान्छेलाई बेस्सरी कुटिँदै थियो । उहाँलाई उठाउने वेला मलाई पनि पछाडिबाट कुटे । आन्दोलनमा जानुभएकामध्ये त्यहाँ धेरैजना घाइते हुनुभएको थियो । हामी त सामान्य नागरिक शान्तिपूर्ण रूपमा हिँडिरहेका थियौँ । आफ्नै देशको बालुवाटारमा हिँड्न पनि नपाउने ? किन रोक्न खोजिएको थियो, थाहा थिएन । तर, शान्तिपूर्ण आन्दोलनमाथि प्रहार हुँदा धेरैजना घाइते हुनुभयो । त्यहाँ धेरैजना बोल्न पनि सक्नुभएन । हामी कतिजनाको त कपडा पनि च्यातियो । पछि, हामी हिँडेरै कमलपोखरी फर्कियौँ । 

नागरिकको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले किन यस्तो दमन गरेको होला ? निहत्था नागरिकको प्रदर्शनसँग सरकार डराउनुपर्ने कारण के छ ?

एउटा कुरा के हो भने प्रधानमन्त्री निरंकुशतातिर उन्मुख हुनुहुन्छ । निरंकुश शासक र पद्धतिले नागरिकसँग जहिल्यै पनि भयभीत महसुस गर्छ । धेरैजना साक्षी छन्, हामी कमलपोखरीबाट शान्तिपूर्ण रूपमा अघि बढेका थियौँ । त्यहाँ प्रहरी लगाएर हामीलाई ‘स्कर्टिङ’ गर्नुपर्ने आवश्यकता नै थिएन । बरु, ट्राफिक व्यवस्थापनसम्म गरिदिएको भए हुन्थ्यो । त्यो पनि जरुरी थिएन । हाम्रै साथीले ट्राफिक व्यवस्थापन गरिरहनुभएको थियो । हामीलाई प्रहरी लगाएर, घेरामा राखेर त्यहाँसम्म जान दिइयो । त्यो आवश्यक नै थिएन । विश्वका धेरै मुलुकमा त्यस्ता प्रदर्शन हुन्छन्, जहाँ मानिसहरू शान्तिपूर्ण रूपमा हिँड्छन् । प्रहरीलाई हिँड्नै जरुरी थियो भने पछाडि वा साइड लागेर हिँडेको भए भइहाल्थ्यो । तर, हाम्रो अगाडि बाटो रोक्दैरोक्दै त्यहाँसम्म पुग्न दिइयो ।

अर्को पनि प्रश्न उठेको छ, बालुवाटारमा प्रधानमन्त्री बस्छन्, प्रधानमन्त्रीको निवासअगाडि सडकमा समेत नागरिकले धर्ना दिन नपाइने हो ?

यो त मौलिक हक र संविधानले दिएको अधिकार हो । बालुवाटारसम्म जानै नपाइने, त्यो कुनै पनि कानुनमा लेखिएको छैन । सामान्य नागरिक जोसँग केही पनि छैन, उनीहरू मार्चपास गरेर बालुवाटारसम्म जान्छन् भने प्रधानमन्त्रीलाई किन आपत्ति ? त्यो त नागरिकले शान्तिपूर्ण रूपमा हिँड्न पाउने बाटो हो । उहाँले आफ्नो बालुवाटार दरबारलाई घेरा हालेर बस्नुहुन्छ भने त्यो उहाँको स्वेच्छा हो, तर हामी त्यहाँ हिँड्न पाउनुपर्छ ।

अब यो देशमा शान्तिपूर्ण आन्दोलन गर्न पनि नपाइने अवस्था आयो ? 

हामीले गरेको शान्तिपूर्ण आन्दोलन नै थियो । हामीसँग प्लेकार्ड पनि थिएन, पेपर थियो । प्लेकार्डमा लाठी हुन्छ, हामीसँग लाठी पनि थिएन । त्यो एकदमै शान्तिपूर्ण हिँडाइ थियो ।

नागरिक अभियन्ताले आफैँ खर्च उठाएर आन्दोलन गरिरहको देखिन्छ, यसको सन्देश के हो ?

आन्दोलनमा स्वस्फुर्त रूपमा मानिस आइरहनुभएको छ । नेपालको संविधान २०७२ जारी भइसकेपछि एक किसिमको फरक अनुभूति सबैले गरिरहेका थिए, विभिन्न असन्तुष्टिका बाबजुद पनि । मानिसहरू निर्वाचनमा होमिएका थिए । अब नयाँ व्यवस्था हुन्छ, संविधान संशोधन गरेर भए पनि असन्तुष्टि बिस्तारै सम्बोधन हुँदै जान्छन् भन्ने थियो । तर, एउटा जनादेश प्राप्त निर्वाचित संस्थाले एउटा ‘पिर्यड’ त पार गर्छ नि ! हामीले सुन्यौँ, सांसदहरू जागिर खान आएका होइनन् । हो, जागिर खान आएका होइनन् तर मतादेश लिएर आएका हुन् । सांसदलाई त्यसरी उडाउन मिल्दैन । सांसदको पनि गरिमा हुन्छ । कम्तीमा पनि एउटा व्यवस्था चलाउन पाँच वर्ष त टिक्नुप¥यो नि ! त्यहीँभित्र तपाईंको संघर्ष हुनुपथ्र्याे । 

यतिवेला नागरिक पनि आक्रान्त भएका छन् । कोभिड– १९ को समय छ । भ्याक्सिन किन्नुपर्छ । बजेट खर्च हुन नसकेको एउटा पाटो छँदै छ । नागरिक अनेक समस्यामा छन् । धेरैले रोजगारी गुमाएका छन् । वैदेशिक रोजगारीको अवस्था त्यस्तै विकराल छ । माफिया बसेर शासन व्यवस्था चलिरहेको छ । द्वन्द्वपीडितको नाममा राजनीति भइरहेको छ । यस्तै, कुराबाट आक्रान्त भएका छन् जनता । जति पनि संवैधानिक निकाय छन्, तिनलाई ध्वस्त पारिँदै छ । संविधानभित्र यस्ता प्रक्रिया लेखिएका छन् ? यही कुरा चाहेको हो जनताले ? त्यसकारण, प्रधानमन्त्रीले जुन प्रक्रिया अवलम्बन गरिरहनुभएको छ, त्यो पूर्ण रूपमा गलत हो ।

नागरिकले पटक–पटक आन्दोलन गर्ने, व्यवस्था परिवर्तन हुने, पात्र परिवर्तन हुने तर चरित्र उस्तै रहने यो अवस्था छ नि, यो किन भइरहेको छ ?

मलाई लाग्छ, नागरिक आन्दोलन सधैँ हुनुपर्छ । हरेक दिन नागरिक आन्दोलन हुनुपर्छ । नागरिक आन्दोलन आजका लागि हो, भोलिका लागि होइन भन्ने हुँदैन । आफ्नै जनप्रतिनिधिलाई जवाफदेही र जिम्मेवार बनाउन पनि त्यो आवश्यक छ । लोकतन्त्रमा जवाफदेहिता सबैभन्दा ठूलो कुरा हो । लोकतन्त्रलाई जनताको शासन पनि भनिन्छ नि ! जनताप्रति जवाफदेही त हुनैपर्छ । त्यसकारण नागरिकको खबरदारी, आन्दोलन भनेको यो समय र त्यो समयका लागि भन्ने होइन, हुँदैन ।

नागरिकले हरेक दिन नेतृत्वमाथि खबरदारी गरिरहनुपर्छ भन्नुभएको ?

हो, हरेक दिन खबरदारी चाहिन्छ । एक दिन मात्रै होइन, तीन सय ६५ दिन नै खबरदारी गर्नुपर्छ । आज खबरदारी गरेपछि भोलि गर्नुपर्दैन भन्ने होइन । म नागरिकलाई जवाफ दिन्नँ, पारदर्शी हुँदिनँ भन्न सरकारले पाउँदैन । 

आजै यता प्रहरीले नागरिकमाथि लाठी प्रहार गर्नुअघि प्रधानमन्त्री भने पशुपतिनाथमा पूजाअर्चना गर्दै हुनुहुन्थ्यो, नागरिकको आवाज कुल्चने र देउताको अर्चना गर्ने प्रधानमन्त्रीले के सन्देश दिन खोज्नुभएको होला ? 

प्रधानमन्त्री नकारात्मक सन्देश दिँदै हुनुहुन्छ । आज उहाँको सुरुवात भयो । केही–केहीलाई खुसी बनाउनका लागि उहाँले यस्ताखाले सन्देश दिनुभएको हो कि जस्तो लाग्छ । आफू खुसी हुन उहाँ जे–जे मन लाग्छ त्यही–त्यही गर्दै हिँड्नुभएको छ । योचाहिँ गलत हो ।

धेरैपटक दोहोरिएको अर्को एउटा चिन्ता छ, त्यो के भने, ओलीले संसद् विघटन गरे, उनका विरुद्ध आन्दोलन गरेर भोलि संसद् पुनस्र्थापना भयो भने पनि सत्तामा आउने त यिनै प्रचण्ड, माधव वा देउवा त हुन् नि भन्ने तर्क छ, त्यसो भन्ने नागरिकलाई तपाईं के भन्नुहुन्छ ?

जोसुकै आओस्, तर उसले यो प्रवृत्ति अपनाउनुभएन, जुन प्रवृत्ति अहिलेका प्रधानमन्त्रीले अपनाउनुभएको छ । देउवा, प्रचण्ड, माधव नेपाल वा अरू कोही आउनुहोस्, तर यो अहिलेको प्रवृत्ति आउनुभएन । यो खबरदारी अहिलेका प्रधानमन्त्रीलाई मात्रै होइन, आगामी दिन आउने जुनसुकै प्रधानमन्त्रीका लागि पनि हो । तपाईंले मतादेश प्राप्त गरेर आइसकेपछि त्यसअनुसारको एउटा व्यवस्था त टिक्नुपर्छ । एउटा ‘फेज’ टिक्नुपर्छ । यो सबैका लागि खबरदारी हो । लुकेर देउवाले सहमति गर्न मिल्दैन । अथवा, लुकेर प्रचण्डले पनि सहमति गर्न मिल्दैन । जनताले हरेकको जवाफ खोज्छन् भविष्यमा ।

आन्दोलनबाटै नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गर्नुभयो । तपाईं पनि सुरुदेखि नै आन्दोलनमा हिँडिरहनुभएको छ । यो जनआन्दोलनको एजेन्डा के हो, त्यसको शक्ति के हो ?

यसको शक्ति भनेको नागरिक हो । नागरिकले आफूले चाहेको कुरा प्राप्तिका लागि आधार तय गर्ने भनेको त्यही ‘प्लेटफर्म’ नै हो । जनआन्दोलन– ३ को आवश्यकता नेपालमा सायद छ जस्तो मलाई लागिरहेको छ । हामीले धेरैवटा आन्दोलन देख्यौँ, तर धेरैलाई हामीले अहिले पनि असन्तुष्ट राखेका छौँ । ती व्यक्तिहरूले खोज्ने सन्तुष्टिको ‘फोरम’ पनि त्यही हो । सम्भावनाकै कुरा गर्ने हो भने यही आन्दोलन पनि तेस्रो जनआन्दोलनको रूपमा विकसित हुन सक्छ ।

सुझावित समाचार