केही व्यक्तिमा खोपको साइड इफेक्ट देखिने कुरालाई नकार्न सकिँदैन, तर खतरनाक रोगको जोखिमका अघि खोपका फाइदालाई मिलाएर हेरिनुपर्छ ।
कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भएसँगै खोप लगाएकामध्ये केहीमा एलर्जी देखिएका समाचार आउन थालेका छन् । अमेरिकाको बोस्टनमा एक डक्टरमा एलर्जी भएपछि उनलाई एपिपेन दिनुपरेको, अलास्कामा एक स्वास्थ्यकर्मीमा पनि खोप लगाएपछि श्वास फेर्न गाह्रो भएको खबर केही उदाहरण हुन् । तर, खोपले एलर्जी गराउने कुरा नौलो भने होइन । एलर्जी रियाक्सन कति गम्भीर छन् र तिनले कति धेरै मानिसलाई प्रभावित पारेका छन् भन्ने महत्वपूर्ण कुरा हो । त्यतिकै महत्वपूर्ण पक्ष खोप लगाउँदाका फाइदा तिनका साइड इफेक्टभन्दा कति धेरै छन् भन्ने हो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले डिसेम्बर १९ मा कोभिड खोप लगाउने विषयमा निर्देशिका जारी गरेको थियो । निर्देशिकामा सिडिसीले केही सीमित व्यक्तिमा खोपले साइड इफेक्ट गर्न सक्ने बताएको थियो । सिडिसीले खोप लगाएका व्यक्तिलाई कम्तीमा १५ मिनेट निगरानीमा राख्न सुझाब दिएको छ । त्यस्तै, सोही निर्देशिकामा स–सना कुराले नै एलर्जी हुन सक्ने इतिहास भएका व्यक्तिलाई भने ३० मिनेटसम्म निगरानी गर्न भनिएको छ ।
ज्यान जान सक्ने प्रकृतिको अत्यधिक एलर्जी उत्पन्न हुने अवस्था ‘एनफिलक्सिस’लाई मुख्यतः बेवास्ता गर्नु हुँदैन । बदामजस्ता खाद्यपदार्थ वा मौरीको टोकाइबाट एलर्जी हुनेहरूले इपिपेन बोकेर हिँड्छन् । एनफिलक्सिस हुने सम्भावना हुने व्यक्तिलाई मृत्युबाट इपिपेनले मात्र बचाउन सक्छ । प्राणघातक हुन सक्ने एलर्जीविरुद्ध औषधि उपलब्ध भए पनि अरिंगाल, बारुलो र मौरीको टोकाइबाट बर्सेनि झन्डै ६० को मृत्यु हुन्छ । त्यसको तीन गुणा संख्यामा खानाको एलर्जीले ज्यान लिन्छ । आमजनसंख्यालाई खोप लगाउन सुरु भएयता खोपले असर गरेका व्यक्तिबारे समाचार आइरहेका छन् । यी खबरले आममानिसलाई नयाँ उपचारबारे चिन्ता उत्पन्न गराउन सक्छ । उच्च दबाबमाझ तीव्र विकास भएकाले खोपलाई लिएर मानिसमा केही आशंका पहिले नै थियो ।
तथ्यांकले यही कुरातर्फ संकेत गर्छ । यो लेख लेख्ने वेलासम्म झन्डै २१ लाखभन्दा बढी अमेरिकीले खोप लगाइसकेका छन् । तीमध्ये ११ जनामा गम्भीर प्रकृतिको एलर्जी देखिएको छ । यो हिसाबमा एक लाख ९० हजार मानिसमा खोप लगाउँदा एकजनामा एलर्जी देखियो । पेनिसिलिन लिने हरेक दशमध्ये एक अमेरिकीमा एलर्जी उत्पन्न हुन्छ । सयजनामध्ये एकमा त्यो वर्गका औषधिले एलर्जी उत्पन्न गराउँछ । तर पनि मजस्ता बालरोगविज्ञले केही डर नलिई पेनिसिलिन सिफारिस गरिरहेका हुन्छौँ । अधिकांश एलर्जी प्रतिक्रिया सामान्य हुने र गम्भीर प्रकृतिको एलर्जीको पनि उपचार हुने भएकाले सो औषधि दिँदा कुनै चिन्ता गरिँदैन । आखिरमा हानिभन्दा फाइदा धेरै हुने भएपछि औषधि दिन हिचकिचाहट आउँदैन ।
कोभिड खोपको साइड इफेक्ट र मृत्यु हुनबाट रोक्ने त्यसको सामर्थ्यलाई दाँजेर हेर्नुपर्छ । अमेरिकाको इन्डियाना राज्यमा कोभिड–१९ रोगबारे भएको राज्यव्यापी अध्ययनबाट प्राप्त तथ्यांकलाई प्रयोग गरेर म र मेरा सहकर्मीले कोभिड–१९ को संक्रमण प्रजनन दर हिसाब गरेका थियौँ । अध्ययनअनुसार जेल तथा नर्सिङ होममा नरहेका ६० र त्यसमाथिका मानिसमध्ये प्रत्येक ५८ संक्रमितमा एकको मृत्यु भएको देखियो । ४० देखि ५९ वर्षबीचको उमेरसमूहमा त्यो दर प्रत्येक ८३३ मा एकजना रहेको छ । ४० भन्दा कम उमेरसमूहमा प्रत्येक १० हजारमा एकको मृत्यु भएको छ । गैर–श्वेतमा संक्रमण प्रजनन दर गोरामा भन्दा तीन गुणा बढी देखिएको छ ।
हुन त कोभिड–१९ संक्रमित भएकामध्ये बहुसंख्यकमा रोग निको हुन्छ, तर अमेरिकामा यो वर्ष कोभिड–१९ का कारण ६ लाख ७० हजार मानिस अस्पताल भर्ना भए । वैज्ञानिकहरू यस रोगबाट लामो समय प्रभावित हुने बिरामीको उपचार पद्धति पत्ता लगाउन संघर्ष गरिरहेका छन् । यस कारणले खोप लगाउनु भाइरसबाट संक्रमित हुनुभन्दा कैयौँ गुणा सुरक्षित देखिन्छ ।
महामारी अन्त्य हुनका लागि हर्ड इम्युनिटीको आवश्यकता पर्छ । कुनै समाजले निश्चित रोगको हर्ड इम्युनिटी प्राप्त गर्न त्यहाँको अधिकांश जनसंख्या या त संक्रमित भइसक्नुपर्छ या खोप लगाएको हुनुपर्छ । तथ्यांक हेर्दा हर्ड इम्युनिटी विकास हुने गरी संक्रमित हुँदा धेरैको ज्यान जान्छ । धेरै मानिस खोप लगाउन डराए भने संक्रमित हुने सम्भावना बढ्छ, जसले आर्थिक तथा सामाजिक कठिनाइ बढाउँछ । निश्चित रूपमा हामी खोपको लाभ तथा जोखिमबारे पारदर्शी हुनुपर्छ, तर हामीले जोखिमलाई कोभिड–१९ को जोखिमसँग पनि मिलाएर हेर्नुपर्छ ।
कुनै पनि खोप शतप्रतिशत प्रभावकारी हुँदैनन् । आगामी साता तथा महिना पनि खोेप लगाएका मानिस बिरामी भएका खबर आइरहनेछन् । यसको अर्थ खोप असफल भयो भन्ने नभएर ती सय प्रतिशत प्रभाकारी छैन भन्ने हुन्छ । जनस्वास्थ्यबारे जानकार हामीले महामारीको समयमा राम्ररी बुझाउन नसक्दा धेरै मानिसमा मास्क, परीक्षण तथा जोखिमलाई कसरी लिने भन्नेमा अन्योल उत्पन्न भयो । अन्योलले मानिसको संक्रमण दर तथा मृत्युमा समेत असर ग¥यो । खोपका सन्दर्भमा हामीले सकेसम्म अन्योल बढ्न नदिऔँ । यदि हामीले सही कदम चाल्यौँ भने सन् २०२१ भित्र महामारीलाई नियन्त्रणमा ल्याउन सक्छौँ ।
आरोन क्यारोल इन्डियाना विश्वविद्यालयको स्कुल अफ मेडिसिनका प्राध्यापक हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य