नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध लुम्बिनी प्रदेशमा आन्दोलन थप सशक्त पार्ने निर्णय गरेको छ । पार्टीको प्रदेश कार्यालय बुटवलमा बसेको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा बसेको बैठकले १५ माघमा बुटवलमा सभा गर्ने निर्णय पनि गरेको छ । प्रदेश कमिटीका सचिव जगप्रसाद शर्माका अनुसार बुटवलमा हुने कार्यक्रममा पार्टीका अध्यक्षद्वय प्रचण्ड र नेपालले सम्बोधन गर्नेछन् । बैठकमा पार्टीका प्रदेश इन्चार्ज युवराज ज्ञवालीसहितका नेताहरूको उपस्थिति थियो ।
बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका क्रममा २ माघमा वडा तहमा र ५ माघमा पालिका तहमा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, १० माघमा जिल्ला सदरमुकाम र मुख्य सहरमा प्रदर्शन गर्ने कार्यक्रमसमेत तय गरिएको सचिव शर्माले जानकारी दिए । बैठकले पार्टीको मूलधारबाट विचलित भएकालाई पार्टी काममा फर्कन आह्वान गरिएको शर्माले बताए ।
यसैबीच, बुधबार रूपन्देही जिल्ला कमिटीको बैठक पनि सम्पन्न भएको छ । बैठकमा पार्टीका प्रदेश इन्चार्ज युवराज ज्ञवाली, अध्यक्ष ओनसरी घर्तीलगायत नेताले सम्बोधन गरेका थिए । जिल्ला कमिटीले पनि आन्दोलनका कार्यक्रम अझ बढी प्रभावकारी बनाउने निर्णय गरेको सो पार्टीले जनाएको छ ।