मकवानपुर/ आर्थिक वर्ष ०८३/८४ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन प्रतिवेदन ०८३/८४ सार्वजनिक गर्दै बागमतीको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान गरेको हो।
यसअघि गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान थियो। यस वर्षको अनुमान १.५५ प्रतिशत बिन्दुले बढी हो। प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७६.५३ प्रतिशत, उद्योगको १२.२४ प्रतिशत र कृषिको ११.२३ प्रतिशत रहने आकलन छ।
खेतीयोग्य जमिन र विद्युत् उत्पादनमा क्षति
पहिलो ६ महिनामा कृषि उत्पादन सामान्य बढ्ने अनुमान गरिए पनि बाढीले भोटेकोशी–त्रिशूली–नारायणी नदी करिडोरका करिब एक हजार ८ सय हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ। बाली बगाउनुका साथै सिँचाइ पूर्वाधारमा सामान्य क्षति र पशुपन्छीजन्य उत्पादनमा असर परेकाले कृषि क्षेत्रको योगदान प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ।
‘सुपर एल निनो’को प्रभावले धानको उत्पादकत्व घट्न सक्ने सम्भावना पनि प्रतिवेदनमा औँल्याइएको छ। यद्यपि, आधुनिक कृषि प्रविधिको विस्तार, अनुकूल मनसुन र मलको पर्याप्त आपूर्तिले उत्पादकत्व बढाउन सहयोग पुग्ने तथा समग्र कृषि उत्पादनमा सामान्य असर पर्ने आकलन छ।
विद्युत् करिडोरका रूपमा रहेको रसुवा–नुवाकोटमा बाढीले क्षति पुर्याएकाले विद्युत् उत्पादनमा उल्लेख्य कमी आउने उल्लेख छ। विद्युत् आपूर्तिमा प्रतिकूलता आए औद्योगिक उत्पादनसमेत प्रभावित हुनेछ। तर, क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना तथा आवासीय र सरकारी भवनको पुनर्निर्माणले गति लिए पुँजीगत खर्च बढेर खानी, उत्खनन र निर्माण क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ।
व्यापार र पर्यटनमा अल्पकालीन प्रभाव
चाडपर्वलक्षित आयातित सरसामानमा क्षति पुगेकाले थोक तथा खुद्रा व्यापारमा अल्पकालीन प्रतिकूल प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख छ। यातायात सञ्जालको गतिरोधले दसैँ–तिहारलक्षित आन्तरिक पर्यटन पनि प्रभावित हुनेछ।
राजमार्ग, कैलाश मानसरोवर यात्रा तथा लाङटाङ–गोसाइँकुण्ड पदयात्रा क्षेत्रमा अवरोध र कतिपय देशको यात्रा परामर्श संशोधनले बाह्य पर्यटकको संख्या अल्पकालमा घट्ने आकलन छ। अर्कोतर्फ, जलवायु परिवर्तनसम्बन्धी शोध–अनुसन्धानका लागि आउने पर्यटक बढ्ने अनुमान छ। विगतको भूकम्प र जेनजी आन्दोलनको प्रभाव विश्लेषणका आधारमा पर्यटन क्षेत्रमा चाँडै सुधार हुने अपेक्षा गरिएको छ।
बाढीले सडक, सञ्चार, विद्युत् आयोजना, सरकारी तथा निजी आवास, विद्यालय र पक्की तथा झोलुंगे पुलमा क्षति पुर्याएको छ। मितेरी पुल, नवनिर्मित टिमुरे सुक्खा बन्दरगाह, रसुवागढी भन्सार यार्ड र विद्युतीय सवारीका चार्जिङ पूर्वाधार पूर्ण रूपमा बगाएको छ।
यद्यपि, प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्ग तथा सहरी र स्थानीय सडक निर्माण एवं स्तरोन्नति भइरहेकाले पूर्वाधार विस्तार हुने अनुमान छ। निजी तथा सरकारी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण लाइन र सुरुङमार्गको कामले गति लिएको अवस्थालाई पनि प्रतिवेदनले विस्तारको आधार मानेको छ। बाढीले पुर्याएको क्षतिबिच यी आयोजनाको प्रगति र पुनर्निर्माणले आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।