मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रहरी समायोजन नहुँदा प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनमा व्यावहारिक कठिनाइ भएको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा मुख्यमन्त्री थापाले संघीय सरकार र सम्बन्धित निकायलाई समन्वय तथा संवादमार्फत समायोजन प्रक्रिया शीघ्र टुंग्याउन आग्रह गरे।
संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी समायोजन आवश्यक रहेको थापाको भनाइ छ। प्रक्रिया टुंगिन नसक्दा प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न कठिनाइ भोग्नुपरेको उनले बताए।
‘प्रहरी समायोजनको प्रक्रिया समयमै टुंगाेमा पुग्न नसक्दा संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा समेत चुनौती उत्पन्न भएको छ,’ उनले भने।
प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारलाई प्रहरी प्रशासनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
समायोजनले शान्तिसुरक्षा व्यवस्थापनसँगै प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति परिचालन र नागरिकलाई दिइने सेवामा सकारात्मक परिणाम ल्याउने उनको विश्वास छ। मुख्यमन्त्री थापाले प्रहरीलाई आवश्यक स्रोतसाधन, प्रविधि र तालिम उपलब्ध गराउने विषय प्राथमिकतामा राख्नुपर्ने बताए। आधुनिक अनुसन्धान प्रणालीको विकास, विपत् प्रतिकार्यका लागि सिप तथा उपकरण र नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
अपराध नियन्त्रणमा समुदायसँगको सहकार्य बढाउन, विद्यालय तथा समुदायमा सचेतना फैलाउन र महिला तथा बालबालिकाको सुरक्षामा संवेदनशील बन्न पनि उनले आग्रह गरे। प्रविधिमा आधारित अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ।
प्रदेश सरकारले स्थापनाकालदेखि प्रदेश प्रहरी कार्यालयसहित विभिन्न भवन र पूर्वाधार निर्माण तथा सवारीसाधन उपलब्ध गराउन सहयोग गर्दै आएको थापाले बताए। प्रहरीलाई सक्षम, आधुनिक, व्यावसायिक र उत्तरदायी बनाउन थप समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कर्तव्य निर्वाहका क्रममा जीवन गुमाएका प्रहरीको योगदान स्मरण गर्दै थापाले घाइते, अशक्त तथा सेवानिवृत्त प्रहरी कर्मचारीको सम्मान र कल्याणमा ध्यान दिनु राज्यको जिम्मेवारी भएको बताए।